हेलम्बुको इष्ट प्वाईन्ट मावि १७ पदक सहित प्रथम

पुष १, किउल । हेलम्बु गाउँपालिकामा भएको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि इष्ट प्वाईन्ट माध्यामिक विद्यालयले हात पारेको छ । शुक्रबार सम्पन्न खेलमा ईष्ट प्वाईन्टले १० स्वर्ण ५ रजत र २ कास्य गरी १७ पदक सहित प्रथम भएको हो ।

हेलम्बु गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका अनुसार गाउँपालिका भरीका माध्यामिक तहका १३ वटा विद्यालय सहभागी भई ३ दिन सम्म भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो र सटफुट लगाएत खेलकुद प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगितामा हेलम्बु–६ मा रहेको ईचोक माध्यामिक विद्यालय ४ स्वर्ण ७ रजत र ४ कास्य गरी १५ पदक हात पार्दै द्वितीय भएको छ । त्यस्तै याङग्रीमा माध्यामिक विद्यालय ४ स्वर्ण, ४ रजत र १ कास्य समेत ९ पदक प्राप्त गरी तृतीय भएको छ भने हेलम्बु मोडेल माध्यामिक विद्यालयले ३ स्वर्ण, १ रजत र १ कास्य समेत ५ पदक हात पार्दै चौथो भएको छ ।

यसैगरी नर्बुलिङ माध्यामिक विद्यालयले २ स्वर्ण, ३ स्वर्ण र ३ रजत गरी ८ पदक, गोल्मादेवी माध्यामिक विद्यालयले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६ पदक, मेलम्ची घ्याङ १ स्वर्ण, २ रजत रु २ कास्य गरी ५ पदक प्राप्त गरेको छ भने सरस्वती माविले २ रजत र ४ कास्य गरी ६ पदक हात पारेको छ ।

पाल्चोक, जयबागेश्वरी, सर्वेदय र महेन्द्र माध्यामिक विद्यालयले कुनै पदक हात पार्न सकेनन् ।
विजेता टिमलाई पालिका उपाध्यक्ष अप्सरा लामिछानेले पुरस्कार, प्रमाणपत्र तथा टर्फी वितरण गरेकी हुन् ।