उच्च शिक्षा निशुल्क पढाउने पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष लामाको उदघोष
दिनेश दुलाल
मंसिर २८, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले आर्थिक कारणले उच्च शिक्षा हाँसिल गर्नबाट बन्चित बालबालिकाहरुलाई निशुल्क पढाउने उदघोष गरेका छन् । बुधबार पाँचपोखरी थाङपाल गाउँपालिका चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० को उदघाटन गर्न थाङपाल भ्याली विद्यालय थाङपालकोट पुगेका गाउँपालिका अध्यक्ष लामाले उक्त धारणा राखेका हुन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाबाट एकजना व्यक्ति पाईल पढ्न अमेरीका पुगेको बताउँदै राम्रो क्षमता भएपनि आर्थिक अभावका कारणले पढ्नबाट बन्चित त्यस्ता विद्यार्थीहरुलाई गाउँपालिकाले जिम्मा लिने ठोकुवा गरे । ‘आर्थिक अभावले कोही पढ्नबाट बन्चित गराईदैन, त्यस्ता विद्यार्थीहरुलाई पढाईन्छ’, पालिका अध्यक्ष लामाले भने । त्यस्ता विद्यार्थीहरुले गाउँपालिकाको शिक्षा शाखा मार्फत निवेदन दिन समेत उनले आग्रह गरे । पाँचपोखरीका विद्यार्थीले पैसाको कारणले पढ्न पाएनन भन्ने अवस्था आउन नदिने उनको ठोकुवा गरे । विद्यार्थीको उज्जवल भविश्यकोे लागि आफू काँध थाप्न तयार रहेको समेत बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले चारवटा ईन्डिकेटरमा काम गरिरहेको बताउँदै पहिलो प्राथमिकता शिक्षा, दोस्रो स्वास्थ्य, तेस्रो कृषि र चौथो पर्यटनलाई दिएको अध्यक्ष लामाको भनाई छ । गाउँपालिकाको आर्थिक जीवनस्तर पर्यटनसंग जोडिएको हुनाले गाउँपालिकालाई पर्यटन हब बनाउन सकिन्छ भनेर राष्ट्रिय अन्र्तराष्ट्रिय व्यक्तिलाई यो भूमिमा पाईला टेकाउन सफल भएको दावी गरे । खेलकुदलाई समेत पर्यटन संग जोडेर विस्तार गरिएको बताए । खेल अनुशासनको सबभन्दा ठूलो पर्याय भएको हुनाले अनुशासितपूर्वक खेलको प्रर्दशन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । ईमादारितापूर्वक म गर्न सक्छु भन्ने आँट विद्यार्थीहरुलाई गराउन सके विश्वमा उत्कृष्ट खेलाडी यहिबाट उत्पादन गराउन सकिने उनको तर्क छ ।
गाउँपालिका अध्यक्ष लामाले खेललाई बुझेका व्यक्तिलाई गाउँपालिकाले खेलकुद विकास सिमितिको संयोजक बनाएर राष्ट्रपति रनिङशिल्ड लगाएत विविध कार्यक्रमद्वारा खेलकुदलाई प्राथमिकता दिईएको बताए । राष्ट्रपति रनिङशिल्ड कार्यक्रम गाउँपालिका स्तरीय कार्यक्रम शिक्षा तथा खेलकुद विकास कार्यक्रम अन्र्तगत गरिने हुँदा सोही अनुसार पालिकाले बजेटको व्यवस्था गरिएको बताए ।
३ दिन सम्म हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो र सटफुट लगाएत खेलकुद प्रतियोगिता हुने गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखा ग्याल्बो लामाको भनाई छ ।
उनका अनुसार भ्याली ५९, चण्डीका २३, भोताङ ३४, भोटेनाम्लाङ २८, क्षेत्रेपालेश्वरी २३, धाप २२, सातकन्या मावि ३४ गरी २ सय भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगिताको पुरस्कार प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५, १० र ५ रहेको छ । शुक्रबार शिल्ड मेडल सहित समापन गरिने आयोजकले बताएको छ । पालिका अध्यक्ष लामाले रेफ्रीलाई बल दिएर खेलकुद प्रतियोगिताको सुरुवात गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, सबै विद्यालयका शिक्षक प्रतिनिधि लगाएत उल्लेख्य विद्यार्थीको सहभागिता थियो । पालिका अध्यक्ष लामालाई ७ वटै विद्यालयका विद्यार्थीहरुले सलामी अर्पण गरेका थिए ।