मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभातफेरी

मंसिर २५, चौतारा । अन्तराष्ट्रिय मान अधिकार दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारामा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय“ भन्ने मूल नाराका साथ ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले प्रभात फेरि कार्यक्रम र अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।

बागमती प्रदेश सभा सदस्य अमृता नेपालको प्रमुख आतिथ्यतामा एव नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको चौतारा नगरपालिकाले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी अमृता नेपाल, प्रहरी कार्यलय, जनप्रतिनिधिबिच मानव अधिकारको विश्वव्यापी महत्व र विश्वमा भएको अमानवीय गतिविधि र मानवताविरोधी कार्यको सन्दर्भमा अन्तरक्रिया भएको थियो । बिहान प्रभातफेरी सम्पन्न गरि दिउँसो नगर सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

साथै संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै जिम्मेवारपूर्ण दायित्व नागरिकले पनि निर्वाह गर्नुपर्ने तर्फ औल्याईन ।

नागरिकले पनि आफ्नो अधिकार प्रयोग गरिरहँदा अरुको अधिकार हनन नहुने गरी आफ्नो कर्तव्य निर्वाह मात्र गरेमा पनि मानव अधिकार हननका घटनाहरु न्यूनीकरण हुने विश्वास व्यक्त गरिन । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले इजरायलद्वारा हमासमाथि गरिएको बर्बरतापूर्ण आक्रमणको निन्दा गर्दै त्यहाँ मानव अधिकार हनन भएकोप्रति चिन्ता जाहेर गरिन ।
प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, मानवअधिकारकर्मी, बुद्विजिवी तथा स्थानीयको समेत सहभागिता रहेको थियो ।