सुशासन र पारदर्शितामय पालिका बनाउने प्रमुख प्रशासकीय अधिकृत दुलालको प्रयास
मंसिर २१, नवलपुर (सिन्धुपाल्चोक) । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका स्थायी घर भएका पूर्णप्रसाद दुलाल प्रशासनिक क्षेत्रमा लामो समय काम गरेका अनुभवी अधिकृत हुन् ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र ४ वटा स्थानीय तहहरुमा दुलालले प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने अवसर पाईसकेका छन् । काभ्रेमा जन्मेपनि उनी सिन्धुपाल्चोकको माटो, जनजीवन र त्याहाँका जनतासंग घुलमिल र एकाकार छन् । एउटै व्यक्ति एउटै जिल्लाका ५ स्थानमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्ने अवसर पाउनु सम्भव त सिन्धुपाल्चोक जिल्लाको लागि पहिलो घटना भएको छ ।
स्थानीय तह हुनुभन्दा अगाडी मेलम्ची नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए दुलाल । झण्डै ३ वर्ष त्याहाँ कार्यरत रहेका दुलाल लिसंखुपाखर गाउँपालिकामा त्यतिनै समय प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहे । त्यहाँ रहँदा बिहान ८ बजेदेखि बेलुका ७ बजे सम्म आफू मात्र खटेनन् अरु कर्मचारी समेत उतिनै खट्थे । उनी केही समय जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वय अधिकारी समेत भए । त्यसपछि उनी सुनकोशी गाउँपालिकामा एकवर्ष भन्दा बढी बिताए । त्याहाँ भएको अस्तव्यस्तलाई उनले केही सकारेको त्याँही कार्यरत कर्मचारी बताउँछन् । सुुनकोशी पछि संघीय मन्त्रालय समेत पुगेका दुलाल पुनः पछिल्लोपटक ईन्द्रावती गाउँपालिकामा पुगेका छन् ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम सुरु गरे देखिनै पालिकालाई सुशासन र पारदर्शी बनाउने उनले उदघोष गरेका छन् । पालिकामा भएका हरेक विकास निर्माण काममा समेत उनले विशेष ध्यान दिएका छन् । ठूला तथा मझौला योजनाहरुको प्राय आफैं अनुगमन गर्छन । कतै त्रुटी भए निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयमै बोलाएर सम्झाउने गरेको पालिकामा कार्यरत एक कर्मचारीले सिन्धुज्वालालाई बताए । कसैमाथि दवाव र प्रेसरमा नभई सहज तरिकाले उपभोक्तालाई सम्झाउने गरेको जानकारहरु बताउँछन् ।
त्याहाँ कार्यरत कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत दुलालले कार्यालयमा हुने खर्चको अनियमितालाई समेत शिष्टममा लैजाने प्रयास थालेका छन् । खर्चमा फारुतिनो र मितव्यविता अपनाउन आफू मातहातका कर्मचारीलाई समेत रुलिङ गरेका छन् । माग फाराम बिना जथाभावी खर्च गर्ने परिपाटीलाई नियन्त्रण गर्न अनिवार्य माग फारम भर्ने र प्रमुख प्रशासकीय अधिकृतको स्विकृतका आधारमा मात्र जुनसुकै सामाग्री खरिद गर्ने प्रक्रियाको थालनी गरेका छन् । जनताको सेवा प्रवाहको लागि चुस्त दुरुस्त र छिटो छरितो गर्ने अधिकृत दुलालको कार्यशैलीप्रति सेवाग्राही समेत सन्तुष्ट देखिएका छन् । आफू मातहातका कर्मचारीलाई दवाव र आदेशमा भन्दा आग्रह र नम्र व्यवहारमा उत्साहित बनाउनु उनको सफल कार्यकालको सूचक भएको जानकारहरु बताउँछन् ।
फरक शैली भएका दुलाललको व्यवहारप्रति कर्मचारी समेत सन्तुष्ट देखिएका छन् । कार्यालय समयपछि सबै कर्मचारी हिँडेपछि मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाट बाहिरिन्छन् । राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राही सबैलाई सन्तुलित व्यवहार गर्न सकेका कारण सिन्धुपाल्चोकका सबै पालिकाहरुमा उनको माग बढेको उनीसंगै बिगतमा कार्यरत रहेका मेलम्ची नगरपालिका राजश्व विभागका प्रमुख राजेन्द्र दुलाल बताउँछन् ।