जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने

कार्तिक १४, बाह्रबिसे । जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । संघले आगामी मङ्सिर १९ र २० गते तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय क्वान्दो प्रतियोगिता बाह्रबिसेमा गर्ने भएको हो ।

जिल्ला तेक्वान्दो संघका पदाधिकारी बैठक बसि प्रतियोगिता गर्ने निर्णय गरेको उक्त प्रतियोगिताका संयोजक तथा पूर्व जिल्ला तेक्वान्दो संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी गराए ।

उनका अनुसार देशभरीबाट उत्कृष्ट महिला पुरुष सहभागी खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगितामा ७ प्रदेशबाट ७ टिम, विभागिय ३ टिम (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) र आयोजक सिन्धुपाल्चोक गरी जम्मा ११ टिमको सहभागी रहने संयोजक बस्नेतले जानकारी गराए ।

फाइट तथा पुम्से तर्फ गरि जम्मा २७० जना खेलाडी र ३० जना अफिसियल गरि ३०० जना भन्दा बढी तेक्वान्दो कर्मीरुको उपस्थित रहने कुरा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीले बताए । खेलकुदको माध्यमबाट समाज परिबर्तन गरि स्वच्छ नागरिक उत्पादन र स्वास्थ्य रहनको लागि पनि सबैले खेलकुद खेल्नु पर्ने उनको तर्क छ ।

सिन्धुपाल्चोक जिल्लामा खेलाडीहरुलाइ खेल खेल्ने वातावरण बनाएर जिल्ला र देशको नाम राख्न थप हौसला होस् भनेर यो प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष भण्डारीले जानकारी दिए । २०५४ साल देखि खेल क्षेत्रमा लागेर तेक्वान्दोको छैटौं डान रहेका भण्डारी २६ वर्ष देखि सिन्धुपाल्चाेकमा मात्रै अनवरत रुपमा प्रशिक्षककाे भूमिका निर्वाह गरेका व्यक्ति हुन् । राज्यबाट व्यक्तिगत रुपमा कुनै सेवासुविधा नलिई खेलाडी उत्पादन गर्न लागि परेका भण्डारीले निकैलाई देश विदेशमा परिचित गराउन सफल भएका थिए । उनले राष्ट्रिय अन्तराष्ट्रिय पदक जितेका छन् ।

स्मरण रहोस भण्डारीले २०६९ साल र २०७१ सालमा दुईवटा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता प्रथम र दोस्रो संस्करण नेपालको ईतिहासमै सबैभन्दा राम्रो प्रतियोगिता गराउन सफल भएका थिए । उनका अनुसार भूकम्प लगाएत माहामारीका कारण रोकिएको उक्त तेस्रो संस्करणको प्रतियोगिता अहिले ९ वर्षपछि हुन लागेको हो ।

प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछन भने प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला तथा पुरुषले पनि नगद सहित शिल्ड पाउनेछन् । प्रतियोगितामा खेलाडी तथा अफिसियलहरुलाइ खाना तथा बसोबासको ब्यबस्था आयोजकले गर्नेकुरा पनि कार्यक्रम संयोजक बुद्धराज बस्नेतले जानकारी गराए । कार्यक्रमको आयोजक तेक्वान्दो जिल्ला कार्यसमिति सिन्धुपाल्चोक रहनेछ् भने सह–आयोजक बाह्रबिसे नगरपालिका रहने भण्डारीको भनाई छ । उक्त प्रतियोगिता उदघाटन तथा समापनको प्रमुख अतिथि भने टुङ्गो लगाउन बाँकी रहेको भण्डारीले बताए ।