बगमति प्रदेश सरकारद्वारा सिद्धिगणेश माविलाई बस

२४ भदौ, चौतारा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत सिद्धिगणेश माध्यमिक विद्यालय सानोसिरुवारीलाई विद्यार्थी ओसारपसारको लागि बस उपलब्ध गराएको छ ।

उक्त बसको चावी बागमती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्री युवराज दुलालले विद्यालयका प्रधानध्यापक राजकुमार यादवलाई हस्तान्तरण गरेका थिए ।

बस हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै भौतिक तथा पूर्वाधार विकास मन्त्री दुलालले सिद्धिगणेश माध्यमिक विद्यालय बागमती प्रदेश सरकारको २० वटा नमुना विद्यालय मध्येको एउटा नमुना विद्यालयको रुपमा विकास गर्ने योजना अनुसार बस उपलब्ध गराईएको बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विद्यार्थी बोक्न बसले सहयोग पुग्ने भन्दै शिक्षा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

४० सिट क्षमताको रहेको उक्त बस सञ्चालनले विद्यालयमा विद्यार्थीको पहुँच बढ्ने र विद्यार्थीलाई सुरक्षित महशुस हुने विद्यालयका प्रध्यानध्यापक राजकुमार यादवको ठम्याई छ । विद्यालयलाई शैक्षिक हवको रुपमा विकास गर्न गुणस्तरीय शिक्षा दिन शिक्षकहरु अहोरात्र खटिरहेको समेत उनको दावी छ ।