मेलम्ची– नवलपुर सडक कालोपत्रे हुँदै, मेयर तामाङद्वारा शिलान्यास

भदौ ४, मेलम्ची । मेलम्ची नगरपालिका भित्र पर्ने नवलपुर–चौतारा सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे हुने भएको छ । उक्त कार्यको सोमबार मेलम्ची नगरप्रमुख आइतमान तामाङले शिलान्यास गरेका छन् ।

कालोपत्रे सुरुवातको शिल्यान्यास गर्दै नगरप्रमुख आईतमान तामाङ

शिल्यान्यास पछिको संक्षिप्त प्रतिक्रिया दिंदै नगर प्रमुख तामाङले जनताको सहज यातायातका लागि थालनी गर्न लागेको कालोपत्रे गुणस्तरीय र तोकिएको अवधिमै सकिनपर्ने बताए ।

बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्र्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको हो ।

पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको हो । मेलम्ची नगरपालिकाको बगुवा सम्म सिमाना पर्छ ।