चौसागढी नगरपालिकाद्वारा कृषि औजार तथा सामाग्री वितरण

दिनेश दुलाल
बैशाख ३१, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभरीका किसानहरुलाई कृषि औजार तथा सामाग्री वितरण गरेको छ ।

आईतबार नगरपालिकाले नगरमै बोलाएर ५६ जना कृषकहरुलाई ट्याक्टर तथा अन्य कृषि समाग्री वितरण गरेको हो । कृषकहरुलाई कृषि औजार तथा सामाग्री वितरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरको उत्पादनमा वृद्धी गरेर सिङ्गो नगर आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको बताए । यसअघि अनुदानमा आएको सामाग्री जनताले संरक्षण गर्न नसकेको उल्लेख गर्दै मेयर सापकोटाले जनताको रगत पसिनाबाट उठेको करबाट कृषि औजार खरिद गरिएको हुनाले हिफाजात गर्न सुझाब दिए । यस वर्ष किसानले माग गरेअनुसार सबै वडामा कृषि औजार तथा सामाग्री प्रयाप्त उपलब्ध गर्न नसकेपनि अर्को आर्थिक वर्षमा प्रयाप्त मात्रमा पु¥याउने उनले बचन दिए ।

किसानलाई ट्याक्टर वितरण गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटा

कृषि शाखा प्रमुख रामहरी दाहालका अनुसार नगरले १५ लाख खर्चेर प्रति वडा ४ वटाको दरले ५६ वटा ट्याक्टर खरिद गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका भित्र १४ वडा छन् । चालु आर्थिक वर्षमा मात्रै कृषि औजार तथा सामाग्री १४ वटै वडामा गरी ६ करोड ५० लाख मूल्य बराबरको माग मध्ये ट्याक्टरको मात्रै ५ करोड मूल्यको एकहजार एकसय ११ वटा माग भएको कृषि शाखा प्रमुख दाहालको भनाई छ । नगरले एक ट्याक्टरको ४५ हजार रुपैया हालेर ल्याएको हो । जसमा उपभोक्ताले ५० प्रतिशत अनुदान अर्थात २२ हजार ५ सय तिर्नुपर्ने छ । अन्य सामाग्री समेत नगर कृषि शाखाले किसानहरुलाई क्रमशः वितरण गर्दैै जाने उनले बताए ।

खेतबारी जोत्न संधै गोरु पाल्ने गरेकोमा पहिलोपटक अनुदानमा ट्याक्टर पाउन सफल भएको चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेकी कल्पना नेपाली बताउँछिन । किसानले नगरबाट अनुदानमा कृषि औजार तथा सामाग्री प्राप्त गर्न पाउनु किसानमुखी कार्य भएको अनुदानमा ट्याक्टर पाउने मध्येका ईर्खुका दलबहादुर दंगालको तर्क छ ।

तर केही किसानले भने ट्याक्टर तथा कृषि नपाउँदा रित्तै फर्कन परेको भन्दै आक्रोस व्यक्त गरेका छन् । नगरले हुने खाने र पहँुचको आधारमा मात्रै कृषि औजार तथा सामाग्री वितरण गरेको उनीहरुको आरोप छ । उता नगरले भने व्यक्तिलाई हेरेर नभई प्राथमिकताको आधारमा छनौट गरी वितरण गरिएको जनाएको छ ।