सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न लिसंखुपाखरले लगायो उर्दि

(२०८०) बैशाख २३, अत्तरपुर । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न उर्दि लगाएको छ ।
लिसंखुपाखरले आफ्ना पालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अनिवार्य सामुदायिक विद्यालयहरुमा भर्ना गराउन सूचना जारी गरेको उक्त उर्दि लगाएको हो ।

सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उद्देश्यले २०८० बैशाख १८ को लिसंखुपाखर गाउँ कार्यापालिकाबाट गाउँ शिक्षा समितिको सिफारिस अनुसार सार्वजनिक पद धारण गरेका सबैको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णंय भएको गाउँपालिका अध्यक्ष राजु लामाले जानकारी दिए । उनका अनुसार लिसंखुपाखर गाउँपालिकामा सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिहरु, विव्यस र शिक्षक अभिभावक संघका प्रतिनिधिहरु तथा बाहालवाला शिक्षक र कर्मचारीका बालबालिकाहरुलाई एकहप्ते म्याद दिएर अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउनपर्ने छ ।

गाउँकार्य पालिकाको बैठक बस्नु अघि गाउँ शिक्षा समितिको बैशाख १७ गते बैठकले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि बहालवाला शिक्षक, कर्मचारी, विव्यस र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउन निर्णय सहितको सिफारिस गरेको थियो । सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भनाई गराई सो को जानकारी शिक्षा शाखामा जानकारी गराईदिन प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्टले बैशाख १८ गत्ते सूचना जारी गरेका थिए । एक हप्ताको म्याद दिएपनि हालसम्म के कतिले भर्ना गरे भन्ने कुरा कुनै जानकारी नआएको शिक्षा शाखा प्रमुख खत्रीले बताईन ।

गाउँपालिकाले निर्णय गरेर जनप्रतिनिधि बहालवाला शिक्षक, कर्मचारी, विव्यस र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउन पर्ने उर्दि जिल्लाकै १२ स्थानीय तहमध्येको पहिलो प्रयास हो ।