पालिका अध्यक्ष लामाको मनकारी भावना, टुहुरो बनेकी कृपाको पढाईको लिए जिम्मा
बैशाख १४, ठूलोपाखर । भनिन्छ–‘एकाध मान्छे मनकारी हुन्छन् तर सबै मान्छे मनकारी हुँदैनन् ।’ यस्तै चरितार्थ भनाई ककलिङ हरिसिद्दी माध्यमिक बिद्यालयमा अध्यायनरत छात्रा कृपा थापा मगरले आफ्नो जीवन बदल्ने मनकारी व्यक्ति भेटिन ।
आमा गुमाएकी लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६ की टुहुरो बनेकी कृपाको एम.ए सम्मको पढाई जिम्मा लिएर अभिभावकत्व ग्रहण गर्ने लिसंखुपाखरका अध्यक्ष राजु लामा भेटिएसंगै कृपाको जीवनमा खुशी छाएको हो । विद्यालय स्थापनाको अवसरमा पालिका अध्यक्ष लामाले टुहुरी बालिका कृपाको सम्पूर्ण पढाई खर्च तथा उनको हेरचाहको जिम्मा लिएर अभिभावकत्व ग्रहण गरेपछि विद्यालयका शिक्षक तथा स्थानीय समेत उत्साहित देखिएका छन् ।
पालिका अध्यक्ष लामाले ५ कक्षामा पढ्दै गरेकी कृपाको अभिभावक बनेर पढाई खर्च लगाएत सम्पूर्ण जिम्मेवारी लिएको ककलिङ हरिसिद्दी माध्यमिक विद्यालयका प्रध्यानध्यापक कृष्णप्रसाद खनालले जानकारी दिए ।
कृपालाई आफ्नै सन्तान सरह एम. ए सम्म पढाईदिने संकल्प सहित बालिकाको सम्पूर्ण जिम्मा लिएको पालिका अध्यक्ष लामाको भनाई छ । अभिभावक विहिन बालबालिकाको अभिभावकत्व पालिका अध्यक्ष हुने कानुनी व्यवस्था भएसंगै आफू कृपाको अभिावक बनेको उनले बताए । कृपाको आफू संरक्षक बसेर नागरिकता बनाईदिने कानुनी प्रावधान अनुसार आफूले नागरिकता बनाईदिने उनले बताए । अध्यक्ष लामाको अनुसार कृपाको बाबूको समेत मृत्यु भईसकेको छ भने आमाको केही समय अघि मात्र मृत्यु भएको हो ।