चौतारा कारागारका कैदीबन्दीले गरे रक्तदान
फागुन १५, चौतारा । सिन्धुपाल्चोक चौतारा कारागारमा विभिन्न मुद्दामा कैद तथा थुनामा रहेका कैदीबन्दीले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, चौतारा उपशाखा, लायन्स क्लब अफ काठमाण्डौं चौतारा सिटी र कर्मचारी मिलन केन्द्र सिन्धृुपाल्चोकको संयुक्त आयोजनामा सोमबार चौतारामा भएको रक्तदान कार्यक्रममा कारागारका ३९ कैदीबन्दीले रक्तदान गरेका हुन् । मानवीय कार्यको लागि उनीहरुले रक्तदानमा ईच्छुक हुने निवेदन जाहेर गरेपछि जिल्ला प्रशासनले यो अवसर जुराएको हो । उनीहरुलाई जेलभित्रै यो रक्तदान गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सोमबार चौतारामा आयोजना गरिएको रक्तदान कार्यक्रम पछि जेल भित्र जेलका ३९ कैदीबन्दीलाई समेत रक्तदानमा सरिक गराईएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति तथा चौतारा उपशाखाका सभापति चन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार कारागारमा नगर उपप्रमुख सीता थापा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा आयोजक टिम तथा स्वास्थ्यकर्मी सहितको टालीले उनीहरुलाई रक्तदान गराएको हो ।
जेलभित्रका ३९ र बाहिरका ७ महिला सहित ५६ जना गरी ९५ जनाले रक्तदानमा सरिक भएको चौतारा शाखाका सभापति सापकोटाले जानकारी दिए । सोही दिन बाहिर भएको रक्तदान कार्यक्रममा भने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा सरिक भएका थिए । रक्तदान कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि मेयर सापकोटाले मानवीय धर्म र कर्मका लागि गरिएको यस्ता कार्यक्रमले सिंगो मानवताकै पहिचान दिने बताए ।
नेपाल रेडक्रस सोसाइटी चौतारा शाखाका सभापति चन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मिलन केन्द्रका सचिव पवन सापकोटाले स्वागत तथा लायन्स क्लबकी मिना थापाले कार्यक्रम सञ्चालन गरेकी थिईन ।