
लिसंखुपाखर गाउँपालिका–५ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

पुस ९, जेठल (सिन्धुपाल्चोक) । जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवन उदघाटन गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले शनिबार नवनिर्मित भवनको उदघाटन गरेका हुन् ।
गाउँपालिका वडा न ५ सिलढुङगा, जेठलमा रहेको वडा कार्यालय भवनको सांसद सापकोटाले सपथ खाए लगत्तै पहिलो समुदघाटनको अवसर जुरेको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद सापकोटाले १ नम्बर क्षेत्रका जनताको तागत र व्यापक समर्थनले निर्वाचित भएसंगै जनताकै सुख दुःखमा साथ दिएर ५ वर्षीय कार्याकाल उपलब्धीमूलक बनाउने उदघोष गरे । ‘म जुनसुकै बेला तपाईहरुकै साथमा हुनेछु,’, सांसद सापकोटाले भने । जनताको काम पर्दा जनताले आफूलाई सिंहदरबारमा खोज्न जाने अवस्था नबनाई आफू जनताकै बीचमा रहने उनले ठोकुवा गरे ।
पालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरु तथा सरोकारवालाहरुको व्यापक उपस्थितिमा गरिएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामाले पहिलो कार्याकालमा भवन निर्माण सुरुवात भएपनि आफ्नै कार्याकालमा आईपुगेर समुदघाटन गर्न पाउनु गौरवको विषय भएको बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल बिष्टका अनुसार उक्त वडा कार्यालयको भवन २०७८ असोज १८ गते सम्झौता भएको । त्यस्तै निर्माण स्विकृत लागत ५४ लाख ७७ हजार, ३ सय ५८ रुपैंया रहेको थियो । भवन ५४ लाख ६६ हजार ८ सय ३९ रुपैया लागतमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । पिपलडाँडा निर्माण सेवा चौताराले निर्माणको ठेक्का पाएको उक्त भवन सम्पन्न गर्नुपर्ने २०७८ चैत्र ३० सम्म म्याद भएपनि २०७९ असोज ९ गते निर्माण सम्पन्न भएको उनले बताए । उनका अनुसार पालिकाले हालसम्म ५२ लाख ७३ हजार ३ सय १० रुपैया मात्र भुक्तानी गरेको छ ।
स्मरण रहोस आर्थिक २०७८÷०७९ को योजना पहिलो कार्याकाल कमल नेपाल अध्यक्ष हुँदाको योजना हो । कार्य सम्पन्न भने नयाँ जनप्रतिनिधि राजु लामा आईसके पछि उक्त योजनाको लागि थप बजेटको व्यवस्था गरेर काम थालिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए । पहिलो कार्याकालमा बजेट परेपनि दोस्रो कार्यकालमा सम्पन्न भएको थियो । चारकोठे पक्की भवन बनेको उक्त वडा कार्यालयको लागि बजेट भने गाउँपालिकाको आन्तरिक स्रोतबाट छुट्टाईएको हो ।