कलिलै उमेरमा विवाह गर्दाको पिंडा, तिम्ल्या छोरा जन्माएर पनि खुशी हराएकी जुनाको कथा

दिनेश दुलाल
मंसिर २९,नवलपुर । ईन्द्रावती गाउँपालिका–२ भोर्लेकी २२ वर्षीय जुना तामाङले तिम्ल्या सन्तान जन्माईन । एक वर्ष पुग्नै लागेका रहर लाग्दा जुनाका मुटुका टुक्रा आँगनमा रगरगाउँदै खेलीरहका छन् । सलसलाउँदा तीन भाई छोरा पाएर पनि जुनालाई मनमा भने शान्ती छैन् । आँगनको डिलमा बसेर भक्कानिदैं जुनाले भनिन,–‘मेरो जीवनको साहारा अब को हुन्छन्र ?’ जुनाका बलिन्धारा आँशु छुटे । उनले आफूलाई समाल्न सकिनन् । उनकी आमा शिलाले सम्झाउन कोसिस गरिन । तर आमाको आँखामा समेत आँशु छचल्कियो । जुनाका श्रीमान ३ महिना अघि देखि वेपत्ता छन् । आज सम्म श्रीमानको न कतै खोजखवर छ । न कुनै अत्तोपत्तो नै । श्रीमानबाट विछोडिएकी जुनालाई काखमा लुटुपुटु गरेका हिराका टुक्रा जस्ता छोराहरु पाउँदा समेत मनमा चैन छैन् । आफ्नो जीवनको साहारा खसम हराउँदाको जस्तो पींडा उनले कसैगरी भुल्नै सकिनन् ।

आज भन्दा ठिक २ वर्ष अगाडि जुनाले बाबु आमाको न्यानो मायाँ छाडेर आफू खुशी प्रेम विवाह गरेकी थिईन । उनका श्रीमान चौरी देउराली गाउँपालिका वडा नम्बर ९ लामा टोलका २३ वर्षीय सुजन लामा हुन । २० वर्ष नपुग्दै प्रेम विवाह गरेकी जुनाले सुजनसंग विवाह बन्धनमा बाँधिएको यो छोटो समयमा विछोडको पिडा भोग्नुपर्ला भनेर कहिल्यै कल्पना समेत गरिनन् । श्रीमानसंग उनको कहिल्यै नराम्रो थिएन । न त उनका श्रीमानले उनलाई तुच्छ बचनले नै बोलेका थिए । श्रीमान र श्रीमति बीच कहिल्यै पनि ठाक्कठुक्क समेत नपरेको जुना बताउँछिन् । विवाह गरेको एकवर्ष पछि जुनाले सग्लो तिम्ल्या छोरा पाउँदा सारा दंग परे । सुजन र उनकी श्रीमति जुनाको खुशीको सिमा थिएन । जुम्ल्या बच्चा त प्राय जन्मने गरेकै थियो तर तिम्ल्या बच्चा त्यहि पनि स्वस्थ्य र सग्लो पाउनु जुनाको लागि खुशीको सबैभन्दा ठूलो क्षण थियो । थाहा पाउने मान्छेलाई समेत निकै अनौटो घटना बनेको थियो जुनाले तिम्ल्या बच्चा जन्माएपछि ।

सुजनको चौरी देउरालीमा जन्म घर भएपनि खेरबारीको उब्जाउले खान नपुग्ने भएपछि उनले जुनालाई भक्तपुरमा कोठा लिएर राखेका थिए । जुनाले एकै पटक तीन सन्तान जन्माएपछि तिनको लालनपोषणको लागि सुजनले आफू पैसा कमाउन विदेश जाने र श्रीमतिलाई माइतिघर भोर्लेमै बस्न सल्लाहा दिएका थिए । त्यहि सल्लाहा अनुसार जुना माईतिमा बस्न थालिन । गएको दशैं ताका असोजको कुरा थियो । जुनाका श्रीमान सुजन विदेश जाने तयारीमा थिए । त्यसको लागि उनी काठमाडौंमा गएका थिए । काठमाडौंबाट घर आउन लागेको भनेका सुजन न त घर नै आईपुगे न विदेश नै गए । आज सम्म जुनालाई तड्पाएर वेपत्ता छन् सुजन । उनको खोजिनीति गर्न जुना र उनका आफन्तले कयौं ठाउँमा खोजबवर गरे तर जुनालाई अब सुजनको न जिउँदो भेटिन्छ भन्ने आश छ, न लाश नै भटियो । प्रहरी चौकीमा उजुरी दिंदा उनका सासु ससुराबाट लोग्ने श्रीमतिको झगडाले आफ्नो छोरो हराएको भन्ने उल्टै आरोप खेप्नु प¥यो । श्रीमान अझै आईपुग्छन की भनेर उनले अझै आशा मारेकी छैनन् । ‘न टुप्लुक्क आई हाल्नुहुन्छ की जस्तो लाग्छ’, वलिन्धारा आशु खसाल्दै जुनाले भनिन् ।

उनलाई हराएका श्रीमान खोज्न जान अझै मन छ । तर साना लालाबाला छोडेर हिड्न सकेकी छैनन् । आफुले विवाह गरेको श्रीमानको घर चौरीदेउराली समेत उनलाई जान मन छैन । ‘मेरो मान्छे नै नभएपछि म त्याहाँ कसरी जानु ? मेरो को नै छर ?’जुनाले भक्कानिदै भनिन । आफूलाई सासु ससुराले नराम्रो व्यवहार गरेपछि दाजुभाईले माईतिमै पाल्ने बचन दिएको उनले सुनाईन । उनका बुबा शेरहादुर तामाङ ‘मानसिं’ भाँडा व्यापार गर्छन् । जुनाकी आमा शिलाले तिम्ल्या बच्चाको सेहारसुसार गर्दै दिन बित्छ ।

पुषमा एकवर्ष पुग्न लागेका तिम्ल्या बच्चालाई आमाको दुध त परै जाहोस बाहिरबाट किनेर ल्याउने दुधले धान्न नसकेको जुनाकी आमा शिलाले बताईन । ‘यिनलाई पाल्नै मुश्किल छ, खाली खान मात्रै खोज्छन्’, शिलाले भनिन् । बच्चाहरु बढ्दै जाँदा दुध, अन्न तथा पोष्टिक आहारको लागि आर्थिकको अभाव भएको शिला बताउँछिन् । बच्चा त जसोतसो पालिएला तर उनीहरुको भविश्य कस्तो हुने हो भनेर जुनाका बाबुआमा निकै चिन्तित छन् । कुनै संघसंस्था तथा स्थानीय सरकारले बालबच्चाको पालनपोषण तथा पढाउन सक्ने वातावरण बनाईदिए आफूहरुलाई ठूलो कल्याण हुने जुनाकी आमा शिलाले आशा व्यक्त गरिन । उनका अनुसार स्थानीय सरकार तथा कुनै संघसंस्थाहरुबाट आज सम्म जुनाले कुनै सहयोग पाएकी छैनन् ।