सिन्धुपाल्चोकमा स्नातक तह सम्मको पढाइलाइ निःशुल्क गराइने उम्मेदवार बस्नेतले दिए आश्वासन

कार्तिक २०, ठूलोसिरुवारी (सिन्धुपाल्चोक) । वाम लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का उम्मेदवार मोहनबहादुर बस्नेतले जिल्लामा स्नातक तह सम्मको पढाईलाई निशुल्क गराईने आश्वासन दिएका छन् ।
शनिबार वामलोकतान्त्रिक गठबन्धनद्वारा मतदाता काँहा घरदैलो गर्ने क्रममा ठूलोसिरुवारीमा गरिएको एक कार्यक्रमका बीचमा उक्त आश्वासन दिएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ अन्र्तगत ठूलोसिरुवारीको नर्र्सिङडाँडामा आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बस्नेतले यस्तो आश्वासन दिएका हुन् । आफू २६ वर्षको उमेर देखि नै शिक्षा प्रेमी भएर निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको स्मरण गर्दै उम्मेदवार बस्नेतले भने,‘अब शिक्षालाई १२ कक्षा सम्म होईन स्नातक तह सम्मलाई निःशुल्क पढाइ गराउनु पर्छ, हामी त्यो सुरुवात सिन्धुपाल्चोकबाट गर्छौ ।’ यो पटकको चुनावमा निर्वाचित भएपछि सिन्धुपाल्चोकलाई शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरिने समेत उनले उदघोष गरे । सिन्धुपाल्चोकमा विकासको हिसाबले आफू सबैभन्दा बढी विकासप्रेमी भएको दावी गर्दै उम्मेदवार बस्नेतले प्राकृतिक विपत्ती हुँदा आफूले साविकका तीनवटै क्षेत्रमा सहयोग पु¥याएको बताए ।

सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रमा निर्वाचित भएपछि विकास निर्माणको हिसाबले जिल्लालाई कायापलट गरिने समेत उनले ठोकुवा गरे । उक्त कोणसभा कार्यक्रममा अर्का उम्मेदवार प्रतिनिधिसभा २ अन्र्तगत प्रदेशसभा (क) बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज दुलालले आफूले गरेको जस्तो विकास गरेर देखाउन अन्य दलका उम्मेदवारहरुलाई चुनौति दिए । अघिल्लो कार्यकालमा आफुसंग प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ विकास मागेको व्यङ्ग गर्दै उम्मेदवार दुलालले तामाङलाई ‘डेट एक्सपाएर’ उम्मेदवारको संज्ञा दिए । ‘म जस्तै विकासप्रेमी मोहन बस्नेत हुनुहुन्छ अब हाम्रो हल मिलेको छ, जति सक्नुहुनेछ तपाईहरुले जोत्नुहोस’, उम्मेदवार दुलाले भने,‘बाकसभरी तपाईहरुले मत दिनुहोस बाकसभरी हामी विकास दिनेछौं ।’

कार्यक्रममा १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतम तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव झलक नेपालले शहिद भूमि रहेको ठूलोसिरुवारीलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगाएत विकासका पूर्वाधारमा विशेष प्राथमिकता दिन आग्रह गरे । उम्मेदवारहरु सहितको चुनावी टोली लावालस्करका साथ ठूलोसिरुवारीको जंगलछाप, कोठडाँडा, हर्रे, भुलभुले हुँदै नर्सिङडाँडा पुगेर कोणसभामा परिणत भएको थियो । गठबन्धनले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ ।