‘ मेरो जीवनशैली र कार्यशैली नै नयाँ पनको ऐना होे’
आउँदो मंसिर–४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेश सभामा गरी ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनैतिक दल बाहेक स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता भएको छ । सोही मध्ये जिल्लाका चर्चित वामपन्थी नेता ध्रुव प्रसाद पराजुलीले समेत स्वतन्त्रबाट प्रतिनिधि सभाका लगि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिबाट विश्राम लिई सकेपछि स्वतन्त्रबाट उम्मेदवारी चाँही किन र के लागी दिनुभयो ? भनेर माओवादी केन्द्रका पूर्व पोलिटव्युरो सदस्य समेत रहेका पराजुलीसंग सिन्धुज्वालाका सम्पादक दिनेश दुलालले लिएको कुराकानीको सम्पादित अंश–सम्पादक
१) अप्रत्यासित रुपमा लामो समय पछि राजनीतिमा फेरी सक्रिय देखिनु थाल्नु भयो नी ?
लामो राजनीतिक पृष्टभूमि पछिका १० वर्ष म समाजिक गतिविधिमा संलग्न रहें । यसले आफ्नो विगत वर्तमानलाई गहिरोगरी बुझ्न र भविश्य के र कस्तो भन्ने योजना बनाउन झनै महत्वपूर्ण रहेको महसुस गरें । राजनीति र समाजसेवा एकअर्काका पर्याय हुन भने यसलाई त अघि बढ्नका लागि उर्जा ठान्नु पर्छ । तसर्थ पनि मेरो राजनैतिक सक्रियतालाई अप्रत्यासित भन्न मिल्दैन ।
२) यहाँले आउँदो मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि सिन्धुपाल्चोक २ नम्बर क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भयो । यो उम्मेदवारी किन र के का लागि ?
प्रतिनिधिसभामा मेरो उम्मेदवारी मुलतः जनताका (आवाज विहिनहरुका) आवाज बोल्नका लागि र जनअधिरकार र कर्तव्यको जागृतिका निम्ति हो । अर्को हाम्रो प्रणालीमा जनताको अपेक्षा पनि जनप्रतिनिधि मार्फत परिपूर्ति हुने हुनाले केन्द्रीय बजेटको दुरूपयोग हुन नदिन र स्थानीय स्रोत संकलन परिचालनमा रहेका अपचलन र अनियमितता माथि अंकुश लगाउन पनि हो जाहाँसम्म संससीय राजनीतिको विरोधी पृष्टभूमिमा हुर्केको म उहि व्यवस्थाको पृष्टपोषणमा किनभन्ने आशय हो । फोहोर सफा गर्नु छ भने त्याहाँ हातहाल्न हिचकिचाउनु हुँदैन । सफाईको सुविधा त छँदैछ ।
३) यहाँले २०७० सालबाट नै माओवादी केन्द्रको पोलिटव्युरो सदस्यबाट राजिनामा दिएर राजनीतिबाटै विश्राम लिनु भएको भन्ने सुनिएको थियो । आखिर फेरी किन त ?
अघिनै भने । मेरो विश्राम भिन्न धरातलमा रहेर देश र जिल्लाको समग्र राजनीतिक र सामाजिक यथार्थको अध्ययन गर्नु थियो । समय संगै एक स्तरमा त्यो काम पुरा भएपछि र सिंपा २ नम्बर क्षेत्रका यथास्थिति विरुद्व विद्रोह बोल्ने मतदाताको अपिल संगै म पुनः राजनीतिक क्षेत्रमा सक्रिय भएको छु । सबाल कहिले कुन मोर्चाबाट प्रत्याक्रमण गर्ने भन्ने मात्रै हो ।
४) माओवादी केन्द पूर्व मान्यताबाट स्खलित हुँदै गएको लगाएतका कारण देखाएर जसरी यहाँ माओवादीबाट अलग्गिनु भयो । गलत भनिएको यो संसदीय व्यवस्थाको सांसद पद चाँही किन चाहियो ?
के गलत र के सहि वैचारिक मान्यताको कसिमा घोटिएर मात्रै अर्थात बौद्विक माथापच्चि बाटमात्रै उजगार हुने विषय नभएर जनताले अनुमोदन गरेकी गरेनन् भन्ने कुरासंग बढी सरोकारसिल विषय हो । सानो समुहको बलबुद्वि ठूलो जनसमुदाय माथि हावी भएसम्म सत्तोसराप गरेरै आफ्नो भूमिका पुरा नहुने रहेछ भन्ने तिर पनि ध्यान जानुपर्छ । ठूलो जनसमुदाय सत्तामा हावी हुनुपर्छ भने मेरो भूमिका त्यसलाई हावी तुल्याउने कर्म संवद्व हुनुपर्छ । यस दिशामा पहल लिनु म मेरो दायित्व ठान्दछु ।
५) त्यसो भयो यहाँका नयाँ भिजन, दृष्टिकोण र जनताका भावना समेट्न सक्ने योजना र आधार के छन् ?
कस्तो दृष्टिकोण, व्यवस्था, शासनप्रणाली, संविधान, कानुन आदि सबाल सदैव बहसमा रहने विषय हुन् । तीनको निर्धारण उत्पादन शक्तिको विकासको अबस्थाले गर्ने हो । पिछडिएको उत्पादन सम्बन्धमका कारण हाम्रो अबस्था पूँजिवादी विश्व व्यवस्थासंग प्रतिश्पर्धा गर्न सक्षम छैन । आफ्नै साँस्कृतिक स्तर र कृषिको जगलाई मजबुत तुल्याउन सम्पूर्ण स्रोत सीप र साधनको परिचालन नगरे स्वाधिन अर्थतन्त्रको जग बन्दैन । यस्तो अवस्थामा निर्माण गर्ने वैचारिक दृष्टिकोण र व्यवहारिक कार्यायोजना बारे म प्रष्ट छु । त्यसैले यसै आधारमा अघि बढ्ने सोचलेनै सहि सुरुवात गर्न सकिन्छ ।
६) जनता शक्ति र सार्मथ्यको पुजारी हुन्छन् भन्ने मान्यता छ । यति ठूला शक्तिहरुका अगाडि आफूलाई कसरी प्रस्तुत गर्न सक्नुहोला ?
शक्ति केन्द्र संधै एकै स्थानमा रहदैन । त्यो राणातन्त्र, पञ्चायतीतन्त्र जस्तै संसदीय शासनतन्त्रको पनि केन्द्र फेरिन लागेको.देख्न र बुझ्न गाह्रो छैन । यस निम्ति बस्तुगत आधार तयार भएपनि आत्मगत आधार मजबुत भईनसकेका कारण अस्थिरता पन्पियको छ । माथि भनिएझै उत्पादन शक्तिको विकासमा जोड लगाउनुको बिकल्प छैन । यहि मेरो कर्मको प्रस्थान विन्दु हुनेछ ।
७) उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन आयोगमा खर्च विवरण पनि पेश गर्नु भयो होला । चुनावी खर्च कति राख्नु भएको छ ?
मैले आफ्नो सम्पति बुझाएको छु । त्यसैले मैले गर्ने खर्चको हैसियत देखाउँछ । तर म पूँजीवादीसंग चुनावी खर्चमा प्रतिश्पर्धा गर्ने मतको विरोधी छु । मेरो खर्च एकदुई लाख भन्दा माथि हुदैन ।
८) तपाई सादगी जीवन व्यतित गर्ने मान्छे चुनाव लड्न त ठूला दलका उम्मेदवारले २÷३ करोड नै खर्च गर्न सक्लान । चुनाव लड्न त धेरै पैसा चाहिएला, कसरी खर्च व्यवस्थापन गर्न सक्नुहोला ?
खर्च जुटाउनेतिर मेरो कुनै चासो छैन । कालो धन मलाई स्विकार छैन । जनताका चुल्होमा पाक्ने ढिंडो रोटी नै मेरो उर्जा हो ।
९) यदि यो निर्वाचनमा जनताले यहाँलाई निर्वाचित गराए भने जनतालाई नयाँ पन के चाँही दिन सक्नुहुन्छ ?
मेरो जीवनशैली र कार्यशैली नै नयाँ पनको ऐना हो ।
१०) अन्त्यमा यस मिडिया मार्फत जनतामा पु¥याउन पर्ने सन्देश र छुट भएका विषय केही छ की ?
मेरो विचार तथा एजेण्डालाई यहाँको मिडिया मार्फत राख्ने अवसर दिनु भएकोमा यहाँलाई धन्यवाद ।