ठूलोसिरुवारीमा जेष्ठनागरिक क्लिनिक तथा स्वास्थ्य परिक्षण
असोज १०, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १३ ठूलोसिरुवारीमा जेष्ठ नागरिक लक्षित क्लिनिक तथा स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ ।
नगरपालिकाको आ.ब २०७९÷८० को नीति तथा कार्यक्रम अनुसार जेष्ठ नागरिक क्लिनिक तथा स्वास्थ्य परिक्षण अभियान कार्यक्रम अनुसार नगरपालिका वडा नम्बर –१३ ठूलोसिरूवारी नर्सिङडाँडाबाट आईतबार सुरुवात गरिएको हो । उक्त कार्यक्रमको शुभराम्भ चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा उपप्रमुख सीता थापाको विशेष आतिथ्यतामा भएको थियो ।
उक्त स्वास्थ्य परिक्षणमा २ सय ३८ जना जेष्ठ नागरिक विरामीको जाँच गरिएको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए ।
जस अनुसार सुगरको जाँच १ सय १५, आँखा परीक्षण १ सय ३५ र खकार परीक्षण ३ जनाको गरिएको उनले बताए । उनका अनुसार परिक्षणका क्रममा मोतिबिन्दु भएका १५ जनाको अप्रेशन गर्नुपर्ने तथा आँखामा मासु पलाएको अप्रेशन गर्नुपर्ने २ जना जेष्ठ नागरिक रहेका छन् ।
यस्तै सोही परिक्षणमा अपाङ्गता परिचय पत्र वितरण ’ख’ को –३ जना र ’ग’ को –२ जना रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सापकोटाले जनताको स्वास्थ्य सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएकोले नगरपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएको बताए । क्लिनिक तथा स्वास्थ्य परिक्षणको पहिलो सुरुवात वडा नम्बर १३ बाट भएपनि नगरका सबै वडामा गरिने उनले जानकारी दिए । कार्यक्रममा उपप्रमुख सीता थापाले जेष्ठ नागरिकका स्वास्थ्य लगाएत हेरक हरेक समस्यासंग नगरपालिकाले साक्षत्कार गरेर समस्या समाधान गरिने प्रतिवद्वता जनाईन ।
१३ नम्बर वडाको आयोजनामा भएको उक्त कार्यक्रमको सहजीकरण विपी मेमोरियल आधारभुत विद्यालयले गरेको थियो भने स्थानीय सरोकारवाला, डाक्टर, स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधिहरू समेत खटेका थिए ।