
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकोे अगुवाईमा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

पराराष्ट्रमन्त्री भन्छन्– ‘दशैं अघि सुचारु गर्न चिनीया प्रतिनिधिसंग वार्ता गरिने छ’
भदौ २६, काठमाडौं । चिनिया पक्षले विभिन्न कारण देखाउँदै एकतर्फी रुपमा लामो समय देखि बन्द गरेको तातोपानी, केरुङ लगाएत उत्तरी नाका यतिबेला ठप्प छ । महिनौ बिति सक्दा समेत नाका सुरुचारु नभएको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ लगाएत व्यापारी व्यवसायीहरुले आईतबार परराष्ट्रमन्त्री डा. नारायण खड्का समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ र नेपाल हिमालय सीमापार संघका पदाधिकारी तथा व्यवसायीहरुले नाका सुचारु गरिदिएर व्यवसायको वातावरण बनाईदिन आग्रह गरेका थिए । ज्ञापनपत्र बुझेका मन्त्री खड्काले दशैं अघि नै नाका सुचारु गर्न पहल थालिने बचन दिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले जानकारी दिए । उनका अनुसार यसअघि पनि संघको तर्फबाट पूर्व सञ्चार मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत तथा नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष समेतको उपस्थितिमा परराष्ट्रमन्त्रालयको ध्यानकर्षण गराईएको थियो । व्यवसायीले जुरे पहिरो देखि २०७२ सालको विनाशकारी भूकम्प तथा कोभिड–१९ का समस्याले नाका प्रभावित हुँदा आर्थिक तथा व्यवसायी गतिविधीहरु फस्टाउन नसकेको बताए ।
२०७२ को भूकम्प पछि बन्द रहेको तातोपानी नाका पहिलेको अवस्थामा फर्काउन नेपाल सरकारले खासै तदरुपता नदेखाएको व्यवसायीहरुको आरोप छ । अध्यक्ष बस्नेतका अनुसार नाका खुलेपनि दिनमा थोरै मात्र गाडीहरु चिनिया पक्षले नेपाल पठाउन दिने गरेका छन् भने निर्यात ठप्प छ । चीनबाट नेपालमा आयत मात्र हुने निर्यात नहुने कारणले व्यापार घाटा वर्षैपिच्छे बढीरहेको छ । भूकम्प अघि राहत दिन सक्ने केही व्यवसायीहरु राहत माग्नु पर्ने अवस्थामा पुगेको अध्यक्ष बस्नेतले बताए ।
नाका बन्द हुँदा चालक परिचालक व्यवसायिक गरी करिब १० हजारले प्रत्यक्ष रुपमा रोजगारी गुमाएको उनको ठहर छ । नेपाल चीनबीच उत्तरी सिमाना नाकाबाट हुने व्यापार अहिले न्युन छ । दुई देश बीच स्थल व्यापारिक नाका तातोपानी र रसुवा बन्द भएपछि नेपाली व्यापारीहरु ठूलो मर्कामा परेका छन् । सुरुमा कोरोना संक्रमण विस्तारका कारण चीनले नाका बन्द गर्दा समस्या भएको थियो । त्यसपछि चीनमा कोरोनाको संक्रमण बढेको भन्दै करिब डेड महिना अघि देखि नाका ठप्प छ । चिनिया पक्षले एकतर्फी रुपमा नाका बन्द गरेपनि नेपाल सरकार र नेपाल सरकार मातहातका कुटनीति निकायहरुको तर्फबाट प्रयाप्त पहल हुन नसकेको व्यवसायीहरको आरोप छ ।
नेपालीहरुको महान चाड दशैं तिहार लगाएत चाडपर्वहरु नजिक आईरहेको अवस्थामा तातोपानी र रसुवामा नेपाली व्यवसायीका दशैका लागि ल्याईएका करिब ३०० कन्टेनरमा रहेका सामाग्रीहरु अलपत्र छन् । उक्त सामाग्री नेपाल तर्फ ल्याउन र नेपाली सामाग्रीहरु चीनतर्फ निर्यातका लागि कुटनीति पहल गरिदिन उद्योगी, व्यापारी व्यवसायीहरुले मन्त्री समक्ष अनुरोध गरेका थिए । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा ऋणको व्याजदरमा गरेको अत्याधिक वृद्विको कारणले गर्दा नेपालमा रहेका उद्योग तथा व्यवसायीहरु धराशाही हुँदै गईरहेको एक व्यवसायीले दुःखेसो पोखे । उक्त समस्याको बारेमा नेपाल उद्योग वाणिज्य माहासंघले सरकारवाला निकायहरुमा जानकारी गराँउदा समेत कुनै पहल तथा प्रयास नभएको उनीहरुको भनाई छ ।
मन्त्री खड्कालाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ –‘जिल्लाको लाईफ लाईनको रुपमा रहेको अरनिको राजमार्ग दिन प्रतिदिन जिर्ण बन्दै गईरहेको छ । सडक विस्तार हुन सकेको छैन । ठाउँ ठाउँमा कच्ची पुलहरु समय सापेक्षा मर्मत संवाहार हुन सकेका छैनन् । बाह्रबिसे देखि माथि कोदारी सम्मको सडकको अवस्था जीर्ण छ । स्थानीय सरकारले सडक केन्द्र सरकारको हो भनेर पन्छने गरेको छ । सडकको दुरा अवस्थाका कारण व्यवसायीले दुःख पाईरहेका छन् । देशमा लगानीको वातावरण बन्न सकिरहेको छैन् । पूँजि पलायनको समस्या बनीरहेको छ । लगानी संरक्षणको दायित्व लिनुपर्ने सरकार किन जिम्मेवारीबाट पन्छिरहेको छ हामीले बुझेका छैनौं । देश विकासको लागि लगानीको अवसर सृजना हुनपर्दछ । लगानीले रोजगारी सिर्जना गर्छ । उत्पादनमा आत्म निर्भर बन्न सकिन्छ भन्ने हाम्रो ठम्याई हो । हामीले यसअघि नेपाल सरकार अर्थमन्त्रालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भन्सार विभागमा पनि ज्ञापनपत्र बुझायौं । कहिबाट ठोस पहल नहुनु दुःख लाग्दो विषय बन्न पुगको छ । उल्लेखित समस्याहरु समाधानमा पहल गरी व्यवसायी गतिविधिहरु सञ्चालनमा सहयोग पु¥याईदिन हार्दिक अनुरोध गर्दछौं ।’