ठूलोसिरुवारी जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुँदै

दिनेश दुलाल
भदौ २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी बालमैत्री वडा हुने भएको छ । बालमैत्री वडा घोषणा हुन लागेको उक्त वडा जिल्लाकै पहिलो हुने भएको छ ।

५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आउँदो बुधबार बालमैत्री वडा घोषणा गर्न लागिएको १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार वडाले बालमैत्री वडा घोषणा गर्न पूर्व ५१ वटा सूचक पुरा गरिसकेको छ । नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रममा २०७६ साल बाट नै नगरपालिकालाइ बालमैत्री नगर बनाउने उद्देश्य अनुसार उक्त वडा घोषणा हुन लागेको हो । कोभिड–१९ का कारण उक्त कार्यत्रम स्थगित हुन पुगेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८।८९ मा पनि नगरका कम्तिमा दुइवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना अनुसार १३ नम्बर वडा पहिलो हुने अवसर पाएको हो । प्रदेश तथा नगरबाट बजेटबाट हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरिसकिएको र सवै सूचक पुरा गरिसकेको वडाअध्यक्ष गौतमले बताए । बालमैत्री स्थानीय शासन वडा समिति वडा अध्यक्ष गौतमको नेतृत्वमा रहने व्यवस्था रहेको छ भने वडा बाल संरक्षण समितिको नेतृत्वमा सेतीदेवी माध्यामिक विद्यालयका शिक्षक हरिविक्रम नेपालको नेतृत्वमा रहेको छ ।

अन्र्तराष्ट्रिय प्रतिबद्धता अनुसार विगत देखिनै बालबालिका सम्बन्धि विविध कार्यक्रम सन्चालन हुँदै आएको र नगरको उद्देश्य अनुसार वडामा निरन्तर रूपमा बालबालिका सम्बन्धि क्रियाकलाप गर्ने तथा आफ्ना नीति तथा कार्यक्रमकमा निरन्तर बालहितका बिषयलाइ प्राथमिकतामा राखेको शिक्षक नेपालको भनाई छ ।

उनका अनुसार वडाका सबै विद्यालयमा दण्डरहित शिक्षा प्रणाली रहेको, विद्यालयमा बालबालिकाहरूलाई शारीरिक मानसिक, यौनजन्य लगायतका कुनै पनि प्रकारको यातना तथा क्रुर व्यवहार गर्न बन्देज गरिएको छ । विद्यालयमा हुने समस्याहरूको समाधान तथा उजुरीको लागि बालक्लबको सक्रियता तथा लैङ्गिक फोकल पर्सनको व्यवस्था गरि समस्या समाधान गर्न प्रयास गरिएको छ । त्यस्तै समुदाय स्तरमा रहेका यस्ता अमानवीय घटना कम गर्न वेला वेलामा प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए ।

२०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटनाहरू देखा नपरेको वडाको तथ्याङ्क छ । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८÷०७९ मा कुनै पनि बालबिबाहको घटना भएको पुष्टि भएको छैन । बाल सञ्जाल तथा वडा कार्यालयहरूमा रहेको तथ्याङ्कमा बालिबिबाहको घटना फेला नपरेको उल्लेख छ । जम्मा घरधुरी संख्या १ हजार २ सय ६९ रहेको उक्त वडामा ३ हजार ८ सय ८७ जनसंख्या मध्ये बालक ७६० र बालिका ७०० रहेको वडा तथ्याङ्का उल्लेख छ ।

सन १९८९ को बालबालिका सम्बन्धि अन्र्तराष्ट्रिय महासन्धि पारित भएसंगै नेपालले पनि सो महासन्धि सन १९९० को सेप्टेम्बर १४ मा संसदबाट पारित गरि बालबालिकाको हकअधिकार प्रति संवेदनशील रहेको सन्देश राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा दिएको छ । जसअनुसार नेपालले बालबालिका सम्बन्धि एन २०४८ को लामो अभ्यास समेत गरि केन्द्र, जिल्ला र स्थानीय तहमा समेत केन्द्रीय बाल अधिकार समिति, जिल्ला बाल समिति तथा गाउँबाल संरक्षण समितिको संरचना निर्माण मार्फत बालकालिको सर्बाङ्गीण विकासका लागि भन्दै बालमैत्री घोषणा कार्यक्रम वडा तहसम्म बजेट व्यवस्था गरी कार्यक्रम गर्न निर्देशन समेत दिएको हो । जस अनुसार बालबालिकको अधिकार निश्चिततको लागि केन्द्रमा राष्ट्रिय बालअधिकार परिषद, प्रदेश बालअधिकार समिति तथा स्थानीय तहमा स्थानीय बाल अधिकार समतिको समेत व्यवस्था गरेको छ ।

यसैबीच उक्त वडाले पूर्ण सरसफाई वडा घोषणा गर्नकाे लागि तयारी थालिएको वडा अध्यक्ष गौतमले जानकारी दिए । खानेपानी तथा सरसफाईमा यो वडा निकै अगाडी रहेको तथा सबै सूचकाङ्क पुरा गर्न कम्तिमा एक बर्ष लाग्ने भएकाले अागमी बर्ष पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने योजना रहेको उनले सुनाए । उनका अनुसार वडाले जलकिनी घुम्ती लगाएत स्थानमा सार्वजनिक सौचालय निर्माण गरिसकेको छ ।

त्यस्तै वडामा पानीको स्वच्छताको लागि सक्नेलाई आफ्नै स्रोतमा फिल्टर किन्न प्रोत्साहन गर्दै खानेपानी कार्यालयको सहकार्यमा ४०० थान फिल्टर वितरण समेत गरिएको छ । स्वच्छता परिक्षणको लागि महिला स्वयंसेविकारहरू परिचालन गरि तथ्याङ्क संकलन समेत गर्न थालिएको उनले बताए । उनका अनुसार बालमैत्री वडा घोषणा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गर्नेछन् । सोही दिन बालबालिका सम्बन्धी विविध कार्यक्रम समेत गरिने गौतमले जानकारी दिए ।