निर्वाचन आचारसंहितामा विभेद गरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिले गुहारे सर्वोच्च

दिनेश दुलाल
चैत्र ८, चौतारा (सिन्धुपाल्चोक) । स्थानीय जनप्रतिनिधि र सांसदबीच निर्वाचन आचारसंहितामा विभेद गरेको भन्दै सिन्धुपाल्चोकका एक जनप्रतिनिधिले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

निर्वाचन आचारसंहितामा रहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान खारेज गर्न माग राखी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

निर्वाचन आचारसंहितामा स्थानीय जनप्रतिनिधि र सांसदबीचनै विभेद गरिएको गाउँपालिका अध्यक्ष शेर्पाको ठहर छ । सांसदले चाँही झण्डा हल्लाएर निर्वाचनको प्रचार गर्न पाउने तर स्थानीय जनप्रतिनिधिले निर्वाचन अगवै राजीनामा दिनुपर्ने यो विभेदपूर्ण छ’, अध्यक्ष निमाले सिन्धुज्वालासंग भने । आचारसंहितामा राखिएको यस्तो प्रावधान संविधान र प्रचलित कानुनविपरीत रहेको उनको ठहर छ । प्रधानमन्त्री वा मन्त्री संसद्को निर्वाचनमा उम्मेदवार हुँदा पद छाड्नु नपर्ने तर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष वा वडा सदस्यको उम्मेदवार हुँदा राजीनामा दिनुपर्ने निर्वाचन आयोगको विभेदकारी निर्णयप्रति सर्वोच्चमा रिट हालिएको उनले जानकारी दिए ।

निर्वाचन आचरसंहितामा अध्यक्षले उपाध्यक्षलाई कार्यभार सुम्पेर राजिनामा दिनुपर्ने प्रावधान समेत सच्याईनु पर्ने उनको जिकिर छ । ‘अध्यक्ष र उपाध्यक्ष नै निर्वाचनमा उठ्न चाहे भने कस्लाई कार्यभार दिने ?’शेर्पाले प्रतिप्रश्न गर्दै भने । कतिपय स्थानमा पालिका उपाध्यक्ष नै रिक्त रहेको अवस्थामा त्यसपछि कसलाई कार्यभार दिने भन्ने कुरा आचरसंहितामा उल्लेख नभएको उनको तर्क छ ।

स्थानीय जनप्रतिनिधिले पाउने सेवासुविधाका सन्दर्भमा पनि विभेदकारी प्रावधान रहेको भन्दै सो खारेजी हुन पर्ने अध्यक्ष शेर्पाको कथन छ ।
उनका अनुसार निवेदकलाई मंगलबार सुनुवाइका लागि सर्वोच्चले डाकेको छ । चैत ३ गते राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रामा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ ।

आचारसंहितामा राखिएको यस्तो प्रवाधान नेपालको संविधानको धारा १७ (२) (च), १८ (१), २५ र १२५ (८) (क), स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १३ (ध) को विपरीत भएको माग रिटमा गरिएको छ । यस्तै राजीनामा बाध्यकारी नभई स्वेच्छिक हुने मान्यतालाई पनि रिटमा समेटिएको छ। रिट निवेदनमा उल्लेख छ, ‘निर्वाचन आचारसंहिता जारी गरी राजीनामा दिन बाध्य गराउन मिल्दैन।’
‘राजनीतिक व्यक्तिको निर्वाचन लड्ने हक समाप्त पार्ने गरी निर्वाचन आचारसंहिता जारी हुन सक्दैन।’

संविधानको धारा २१५ (३) (क) मा अध्यक्षले उपाध्यक्ष समक्ष, उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था पनि रिटमा स्मरण गराइएको छ। रिटमा उल्लेख छ, ‘अध्यक्ष र उपाध्यक्ष दुवै निर्वाचनमा उम्मेदवार हुन चाहेमा अध्यक्ष वा उपाध्यक्ष एकले राजीनामा दिएमा कुनै पदाधिकारी नै हुँदैन। अध्यक्षले उपाध्यक्ष समक्ष राजीनामा दिएमा उपाध्यक्षको राजीनामा दिने कुनै पदाधिकारी नै हुँदैन।’
यस्तो निर्वाचन आचारसंहिताले अध्यक्ष वा अध्यक्ष एकजनाको निर्वाचनमा उम्मेदवार बन्ने हक नै समाप्त पार्ने शेर्पाले बताए ।

स्थानीय तह एक मिनेट पनि खाली रहन नहुने, उम्मेदवार भएपछि निर्वाचित भई शपथ ग्रहणसम्म झन्डै एक महिना लाग्ने, यस अवधिमा सेवाग्राहीका तत्काल गर्नुपर्ने सबै काम रोकिने प्रश्न रिटमा उठाइएको छ। रिटमा उल्लेख छ, ‘गाउँमा गएको सिंहदरबारलाई विपक्षी निर्वाचन आयोगका कारणले करिब १ महिनासम्म खाली गर्न मिल्दैन।’ यस्तै रिटमा पाँच वर्षका लागि जनताले निर्वाचित गरेको व्यक्तिलाई आयोगले राजीनामा दिन भन्न नमिल्ने दाबी रिट निवेदकको छ ।

रिटमा उल्लेख छ, ‘प्रचलित कानुनको विपरीत नहुने गरी मात्र निर्वाचन आचारसंहिता जारी गर्नुपर्नेमा संविधानले दिएको हकसमेत हनन हुने गरी जारी भएको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ प्रारम्भदेखि नै बदर भागी छ ।’
अध्यक्ष शेर्पाले आईतबार हालेको रिट नेवेदनमा ईन्द्रावती गाउँपालिकाका स्थानीय कांग्रेस नेता भवनाथ आचार्य वारेस नामा रहेका छन् । । उक्त रिटप्रति अधिकांश स्थानीय जनप्रतिनिधिहरुको समर्थन रहेको अध्यक्ष शेर्पाको भनाई छ ।