जिमालीले गर्यो हस्तान्तरण पुनर्निर्माणको बाँकी काम (आवास तथा भवन) इकाईले गर्ने
निर्मल बस्नेत ÷ सिन्धुपाल्चोक
२०७८ भाद्र ३०,
जिल्ला आयोजाना कार्यान्वयन ईकाई(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ) सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम जिल्ला आयोजाना कार्यान्वयन इकाई (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ ।
भाद्र ३० गते बुधबारका दिन जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन ईकाईका जिल्ला आयोजना प्रमुख टंकप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
२०७२ बैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षती पुर्याएको नीजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसंगै यो प्रकृयामा गएको हो । यस भन्दा अगावै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरु सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिए तापनि नीजी आवास पुनर्निर्माणको काम भने जिमाली र भवनलाई समायोजन गरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत नै रहने गरि जिल्लामा जिल्ला आयोजाना कार्यान्वयन इकाई (आवास तथा भवन) कार्यालय भने रहने भएको छ ।
आयोजनाका प्रमुख यसभन्दा अघि पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए ।
जिल्लामा हालसम्म पटक पटक गरि कायम भएका पुननिर्माण र प्रवलिकरण गरि ९१ हजार ५४ जना लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । जसअनुसार पुनर्निर्माण बापत ३ लाख र प्रवलिकरण वापत १ लाख प्राप्त गर्ने गरेका छन् । जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५ जना, दोस्रो किस्ता ८६ हजार ९ सय ९० र तेस्रो किस्ता ८२ हजार ७ सय ३९ जनाले लिएका छन् ।
अझै ८ हजार ३ सय १५ जनाले अन्तिम किस्तावापतको रकम लिन बाँकी रहेको देखिन्छ ।