सिन्धुपाल्चोकका विद्यालय प्रविधिमैत्री बनाईदै, पहिलो सुरुवात सिद्विगणेशबाट

साउन ४, चौतारा (सिन्धुपाल्चोक) । नेपाल सरकारबाट सञ्चालिन सामुदायिक विद्यालयहरुलाई सिन्धुपाल्चोकमा प्रविधिमैत्री बनाईने भएको छ । बालबालिकाहरुलाई विद्यालयमा श्रव्यदृश्य मार्फत अध्यापन गराउन प्रत्येक शिक्षकहरुलाई ल्यापटप दिएर सिद्विगणेश माध्यामिक विद्यालय सानो सिरुवारीले पहिलो सुरुवात गरेको हो ।

बागमती प्रदेश सरकारको नमुना विद्यालय बिकास कार्यक्रम अन्र्तगत चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ सानोसिरुवारीमा रहेको श्री शिद्धिगणेश माविमा अध्यापन गराउने शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको हो ।
आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री युवराज दुुलालले शिक्षकहरुलाई उक्त ल्यापटप हस्तान्तरण गरेका थिए । ल्यापटप वितरण गर्दै पूर्व मन्त्री दुलालले प्रविधिलाई सहि सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने बताए ।

दुलालकै प्रयत्नमा सामाजिक बिकास मन्त्रालयले अघि सारेको नमुना विद्यालय विकास कार्यक्रम ल्याएको थियो । उक्त नमुना विद्यालयले अघि सारेका कार्यक्रमहरु जिल्लाका सबै विद्यालयहरुमा समेत लागु गर्न प्रयत्न गरिने उनले प्रतिवद्वता जनाए ।
१६ लाख ९१ हजार ४५ रुपैया बिनियोजित बजेट अनुरुप विद्यालयमा अध्यापन गराउने सम्पुर्ण २८ जना शिक्षकहरुलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक राजकुमार यादवले जानकारी दिए ।
प्रदेश सरकारले छनोट गरेका २० वटा नमुना विद्यालयहरुमा पर्न सफल यस विद्यलयमा प्रदेश सरकारको आर्थिक सहयोगमा ल्यापटप वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्ति दुलालले जानकारी दिए ।