साँधीखोल्सा पुल निर्माणमा ठेकेदारको चरम लापरबाही, वर्षा लाग्दा समेत पुलको काम अधुरै

दिनेश दुलाल
जेठ १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीन जोडिने अरनिको राजमार्ग अन्र्तगत साँधीखोल्सा पुल निर्माणमा ठेकेदारको चरम लापरबाही देखिएको छ । दुई वर्ष अघि बाढीले क्षति पु¥याएको बाह्रबिसे बजार नजिक साँधी खोला पुल निर्माणमा ढिला सुस्ती भएपछि वर्षा अगवै सम्पन्न नहुने देखिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए । ‘वर्षा लागिसक्यो, पुल निर्माणको काम अत्यान्त सुस्त गतिमा भएकोले ठेकेदारको चरम लापरवाही छ’, मेयर शेर्पाले भने । आफुले पटक–पटक काम छिटो गर्न आग्रह गरेपनि निर्माण व्यवसायीले वास्ता नगरेको उनले सुनाए । पुल निर्माणमा चासो नदेखाउनु सडक डिभिजन कार्यालय चरिकोटको समेत कमजोरी रहेको उनको ठहर छ । यस विषयमा आफुले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समेत पत्र लेखेर ध्यानकर्षण गरिएको उनले जानकारी दिए ।

बाह्रबिसे नगरपालिका वडा–३ र ४ को बीचमा पर्ने खुर्सानीबारीमा भोटेकोशी नदिमा आएको बाढीबाट खोर्सानीबारी अझै उच्च जोखिममा रहेको उनले बताए । उनका अनुसार नदि कटानबाट चाईना संगको व्यापारिक कोदारी नाका जोड्ने अरनिको राजमार्ग हुँदै ल्याउने कोभिड–१९ नियन्त्रणका स्वास्थ्य सामाग्री लगाएत अन्य सामग्री दिनहुँ आयत हुने गर्दछ । तर वर्षा लागेपछि बिग्रिएको सडक तथा पुलका कारण स्वास्थ्य सामग्री लगाएत आयत कार्यलाई समेत असर पुग्ने मेयर शेर्पाको ठहर छ । सडक निर्माणका लागि सडक डिभिजन कार्यालय चरिकोट, दोलखाबाट टेन्डर आहवान भई मैनाचुली, यु एण्ड एस भोटसिपा जे.भी प्रा.लीबाट कार्य गर्ने क्रममा अत्यान्तै ढिलासुस्ती गरेर लापरवाही गरिएको उनको आरोप छ । निर्माण कार्य समयमै गर्न पटक पटक ठेकेदार पक्ष सडक डिभिजन कार्यालयमा अनुरोध गर्दा सुनुवाई नभएको समेत उनले सुनाए । उनका अनुसार ठेकेदार पक्ष सम्पर्क विहिन भएका छन् । सडक डिभिजन कार्यालय चरिकोटका साईड हेर्ने ईन्जिनिएर र ठेकेदार पक्षको चरम लापरबाहीका कारण बर्षाद सुरु भएसंगै भोटेकोशी नदिको बहाव बढेपछि सडकनै अवरुद्व हुने मेयर शेर्पाको ठहर छ । उक्त पुलको पटक पटक टेन्डर भईसकेर पनि समयै काम सम्पन्न नभएको कारण बाह्रबिसे बजारमाा कुनै पनि अप्रिय घटनाहरु र बजारमा बाढी पहिरोले क्षति भएमा सम्बन्धित निकायलाई जवाफ दिने समेत मेयर शेर्पाले चेतावनी दिए । पुल निर्माण गर्ने कम्पनी, साईड हेर्ने ईन्जिनिएर र चरिकोट डिभिजन कार्यालय चरिकोटलाई झिकाउन आफुले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई परिपत्र गरिएको उनले सुनाए ।
अरनिको राजमार्ग जोड्ने साँधीखोल्सा पुलको सन्दर्भमा आएको उजुरीको बारेमा आफुले जानकारी पाएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल बताए । ‘पुल निर्माणमा लापरवाही भएको भन्ने कुरा मैले जानकारी पाईसकेको छु, सिन्धुपाल्चोक फर्किएपछि कारवाही अगाडी बढाउँछु’, प्रजिअ पोखरेलले सिन्धुज्वालासंग भने ।
पुल निर्माणको लागि आफुले ठेकेदार कम्पनीलाई पटक–पटक पत्रचार गरिसकिएको सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतो सिन्धुज्वालालाई बताए ।
‘साँधीखोल्सा पुलको लागि ठेकेदारलाई हामीले बारम्बर तागेता गरेका छौं’, डिभिजन प्रमुख महतोले भने,‘यो अरनिको हाईवे हो, यसलाई छिटो गर भनेर निर्देशन गरिसकेको छु ।’ कोरोना लगाएत विभिन्न बाहाना बनाएर ठेकेदारले सेडिओल भन्दा ढिलै काम गरिरहेको डिभिजन प्रमुख महतोको भनाई छ । ठेकेदारले बुझाएको सेडिओल भन्दा काम थोरै भएको स्विकार गर्दै डिभिजन प्रमुख महतोले निर्माण व्यवसायीलाई निर्धारण गरिएको समयमै सक्न बाराम्बार पत्र लेखेर चेतावनी समेत दिएको उनले सुनाए ।
त्यस्तै गत साल बाढीका कारण पूर्ण क्षति भएको खागदाल पुल गत वर्ष विभागबाट कुनै पनि बजेट बिनियोजन नभएको डिभिजन प्रमुख महतोको भनाई छ । तर तत्कालको लागि बेलीब्रिज हालिने उनले स्पष्ट पारे । दुईपटक बेलीब्रिजको टेन्डर आह्वान गरेपनि कतैबाट टेन्डर नपरेकोले पुनः आह्वान गरिने उनले बताए ।
खरिद ऐन अन्र्तगत चरिकोट डिभिजन कार्यालयले अर्को विकल्पमा जान नसक्ने भएकोले ढिला भएको उनले सुनाए । अब आपतकालिन अवस्था भनेर बर्षा अगवै बेलिब्रिज हालिने उनले प्रष्ट पारे ।
उता खोर्सानीबारी स्थित सडक निर्माणको लागि ठेक्का पाएको भोटसिपा जे.भी कन्ट्रक्सनका प्रोपाईटर नारायण पुर्कोटीले भने ठेक्का नै ढिला लागेकोले काम हुन नसकेको बताए । ‘हाम्रो सम्झौता नै भएको छैन ठेक्का ढिला निकालेको हो’, निर्माण व्यवसायी पुर्कोटीले सिन्धुज्वालासंग भने । उनका अनुसार उक्त सडक निर्माणको ठेक्का बैशाखमा निकालिएको हो । जेठमा सम्झौता गरिनेगरी कागजात तयार गरेपनि कोरोना माहामारीले बन्द भएको कारण सम्झौता हुन नसकेको उनले सुनाए ।
अहिले काम गर्दा नदिको बहाव बढ्ने कारणले काम थाल्न नसकिएको उनले बताए । ‘पहरो खन्न पथ्थरै पथ्थर छ, वर्षा लागिसक्यो अब वर्षा सकिएपछि मात्रै होला जस्तो छ’, पुर्कोटीले भने । मेशिन लगेर काम सुरु गर्न खोज्दा पनि नसकेपछि छाडिएको उनले सुनाए । आउँदो साल २०७९ साल जेठ सम्मको म्याद रहेकोले उक्त समय भित्र सकिने उनको भनाई छ ।
साँधीखोल्सा पुल निर्माणमा चरम लापरबाही गरेको भनेर उजुरीमा परेका लामा कन्ट्रक्सनका प्रोपाईटर पदम लामासंग भने सम्पर्क हुन सकेन ।
उनी यस अघि पनि निकै विवादमा पर्दै आएका छन् । सुनकोशी पुल समेत उनकै लापरबाहीको कारण वेवारिसे अवस्थामा रहेको स्थानीयको भनाई छ ।
साँधीखोल्सा पुल निर्माण ढिला हुनुमा ठेकेदार लामाकै लापरवाही भएको साईड निन्जिनिएर गोविन्द डुमरुले बताए । ‘निर्माण ढिला हुुनुमा कोरोना माहामारीको कारण त छँदैछ त्यसमाथी सोचेको जस्तो काम नहुनु ठेकेदारको कमजोरी छ’, ईन्जिनिएर डुमरुले भने ।
स्मरण रहोस साँधीखोल्सा पुलको लागि स्टमेट अनुसार भ्याट सहित ६ करोड ९१ लाख १७ हजार ७ सय ८९ रुपैंया रहेकोमा भ्याट सहित ५ करोड ८९ लाख ८२ हजार ४ सय २५ रुपैंमा टेण्डर परेको हो ।
त्यस्तै खुर्सानीबारी सडक निर्माणको लागि स्टमेट अनुसार भ्याट सहित ६ करोड ६५ लाख ५ हजार ९ सय ८ रुपैंया रहेकोमा भ्याट सहित चार करोड ८६ लाख ८० हजार ७ सय ६९ रुपैंयाको टेन्डर परेको हो ।
खोर्सानीबारी स्थित सडक तथा खागदल पुल गत सालको बाढीबाट पूर्ण रुपमा क्षति भएको थियो ।
जिल्ला प्रशासन कार्यालयलाई बाह्रबिसे नगरपालिकाले लेखेको पत्र यस्तो छ–