
चौसागढी नगरपालिकाद्वारा टोलमै पुगेर स्वाब संकलन, १ हजार ६ सय १८ को परिक्षण

दिनेश दुलाल
बैशाख २९, ठूलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका टोल टोलमै पुगेर स्वाब संकलन गरेको छ । जनतामा पिसिआर परिक्षणको दायारा फराकिलो बनाउन भन्दै आफ्ना सबै वडाहरुमा पुगेर स्वाब संकलन गरेको छ । १४ वटा वडा रहेको उक्त नगरपालिकामा ३ वटा वडा बाहेक एकसाताको बीचमा ११ वटा वडामा स्वाब संकलन गरिएको नगर स्वास्थ्य प्रमुख शिव पुरीले जानकारी गराए । उनका अनुसार ११ वटा वडामा गरी बुधबार सम्म १ हजार ६ सय १८ स्वाब संकलन गरिएको हो । जसमध्ये १ सय ९७ जना संक्रमित देखिएको र ५ सय ६८ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । नगरबाट खटिएका स्वाब संकलन टोलीले बुधबार मात्रै पिपलडाँडा र ठूलोसिरुवारी ३ सय ६२ को पिसिआर टेष्ट गरिए हो । स्वाब संकलन गर्न बाँकी रहेको वडा नम्बर १, ८ र १४ पनि छिट्टै गरिने पुरीले बताए ।
यसैबीच चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भए पश्चात रोकथाम तथा नियन्त्रणको लागि सक्रियता बढाएको जनाएको छ । जसअनुसार
जिल्ला स्थित विभिन्न सरोकारवालाहरुको उपस्थितीमा नगर स्तरीय सर्वपक्षिय बैठक सम्पन्न गरेको नगरले कोभिड १९ संक्रमण नियन्त्रण तथा संकट ब्यवस्थानको लागि १७ सदस्यीय नगरस्तरिय कोभिड १९ संकट ब्यवस्थापन समिती गठन, १४ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा ७÷७ सदस्यीय कोभिड १९ संकट ब्यवस्थापन तथा समन्वय समिति गठन तथा नगरपालिकाका सबै वडाका संकास्पद स्थानमा स्वाब संकलन गरि नमुना परिक्षण गर्न सुरु गरिएको जनाएको छ । जसमा कन्ट्याक ट्रेसिङलाई थप ब्यवस्थित गर्न स्वास्थ्य टोली टोलटोलमा परिचालन गरेको हो ।
यसैगरी मेलचौरमा रहेको ३० बेडको क्वारेन्टीनलाई तत्काल ब्यवस्थापन गरी आइसोलेसनको रुपमा सन्चालन गर्न थप ब्यवस्थापन गर्नुको साथै जिल्ला समन्वय समिति, चौतारा अस्पताल र चौतारा स्थित फिल्ड ट्रेनिङमा रहेका २६ बेडको आइसोलेसनलाई थप ब्यवस्थित गरि उपचार केन्द्र बनाइएको नगरको भनाई छ । जसमा हाल ७ जना उपचाररत छन् । त्यस्तै नगर पालिकाको अनुसार हाल चौतारामा रहेको एउटा डेडिकेटेड एम्बुलेन्सले अपुग हुने देखिएको ले २ वटा एम्बुलेन्स थप गरिएको, उच्च संक्रमण भएको स्थानका ब्यक्तिहरुको अन्यत्र आवतजावतमा नियन्त्रण गर्न संक्रमित क्षेत्र शिल गर्न जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि उक्त कार्य सुरावात गरिएको छ ।
नगरपालिकाले बैशाख २४ गतेबाट स्याउले, चौतारा, मेलचौर, इर्खु, जल्केनी, साँगाचोक, सुकुटे लगायतका बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गर्न स्थानीयहरुलाई अनुरोध गरिएको छ र त्यसको अनुगमन गर्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिसंग समन्वय गरेको थियो ।
यस्तै आपतकालीन सेवालाई चुस्त दुरुस्त र ब्यवस्थित राख्न नगरपालिका का ४ जना कर्मचारीहरुलाई फोकल ब्यक्ति तोकेको छ । जसमा नगरभित्रका एम्बुलेन्सहरु संग समन्वय गर्न रोहित शर्मा, संक्रमित हरुसंग समन्वय गर्न शिव बहादुर पुरी, आइसोलेसनसंग समन्वय गरि संक्रमितहरुको व्यवस्थापन गर्न चिरञ्जीवी कट्टेल र संक्रमित हरुको ट्रेसिङ र नतिजाबारे जानकारी गराउन दिनेश नेपाल रहेका छन् ।
यस्तै नगरपालिकामा ५ सिलिन्डर र चौतारा अस्पतालमा २५ मौज्दात राखेर छ) संक्रमितहरुलाई मास्क, सेनिटाइजर र थर्माेमिटर लगाएत स्वास्थ्य सामग्री लिएर नगर प्रमुखको नेतृत्वमा घरघरमा भेट्ने अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।