नक्कली पैसा छाप्ने मेसिन सहित एक युवक पक्राउ

दिपक चालिसे
चैत्र ८, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा पैसा छाप्ने मेसिन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोबाईल पसल संचालक मेलम्ची नगरपालिका वडा नं. १३ फटकसिलाका २४ वर्षीय राजाराम दनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार मेलम्ची नगरपालिका वडा नं. १२ सिन्धुखोलामा नक्कली नोट छापी कारोवार गर्ने गरेको भन्ने समेत व्यहोराको सूचना जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिको प्रहरी टोलीले खोजतलास गरेको थियो । सो क्रममा शनिबार बिहान नगरपालिकाको वडा नं. १२ स्थित गोल्मादेवी मोवाईल हाउसमा नक्कली नोट छाप्न प्रयोग गर्ने पेपर थान २४, रु. एकहजारको नेपाली नोट अगाडी पछाडी प्रिन्ट गरिएको पेपर थान १, नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर थान १ फेला परेको उनले बताए । पक्राउ परेका राजाराम दनुवारलाई थप अनुसन्धानका लागि बरामदी सामान सहित जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको उनले जानकारी दिए ।
मेलम्चीमा प्रहरी निरीक्षक तामाङ आए संगै विभिन्न अपराधमा संलग्न भइ फरार रहेका अभियुक्त धमाधम पक्राउ परिरहेको स्थानीयको ठम्याई छ । तामाङ निरीक्षक भएर आए संगै शान्ति सुरक्षा सुदृढीकरण भएको स्थानीयले बताएका छन् ।