राजनीति पेशा संगै सीताको उन्नती, सिताके च्याउ

दिनेश दुलाल
पुष २, चौतारा । चौतारा साँगाचोगचोकगढी नगरपालिका–१० जलकेनीकी सीता थापा पेशाले राजनीतिकर्मी हुन् । युवा पुस्ताको झर्झराउँदो उमेरकी सीता सिन्धुपाल्चोककी प्रखर युवा नेता हुन् । पूर्व नेकपा (एमाले) पार्टीको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेकी सीता हाल पार्टी एकता भएसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटि सदस्य छिन् । सीताको पार्टीमा निकै सक्रियता छ । उनी प्राय जिल्ला पार्टीका सबै गतिविधिहरुमा नपुगेको ठाउँ छैन् । उसोत गत स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाबाट उपमेयरको प्रत्यासी बनेकी सीताले निर्वाचनमा पराजय व्यहोर्नु परेपनि सिन्धुपाल्चोकको राजनीतिमा आफ्नो क्यारिएर भने राम्रै बनाएकी छिन् ।

कलिलो उमेरमै राजनीतिमा छपक्कै लागेकी उनै सीताले अहिले राजनीति पेशा संगै च्याउ व्यवसाय थालेकी छिन् । व्यवसायमा समेत आफैं खटिएकी सीताले सिताके च्यााउ उत्पादन गरेकी छिन् । ३ वर्ष अघिदेखि यो पेशामा लागेकी सीताको आफ्नै घर नजिकै प्लाष्टिक टनेलमा राखिएको काठको मुढामा खैरा रंगका टनक्कै सीताके च्याउ फलेका छन् । लगभग ७ लाख लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेकी उनको अहिले १५ सय मुढा पुगेको छ । तर मुढामा बिउ राखेको ९ महिना पछि मात्रै उत्पादन दिने हुनाले ३ सय मुढाबाट मात्रै उन्त्पादन भएको उनी बताउँछिन । अहिले उनको एक महिनामा एकसय केजी सम्म च्याउ उत्पादन हुने गर्दछ । बिउ राखेको ६ महिना सम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुने उनको कथन छ । तर ठूलो खालको सिताके च्याउको लागि भने उत्पादन दिन ९ महिना लाग्ने उनले सुनाईन । प्रति केजी ५ सय देखि ८ सय सम्म बिक्री हुने गरेको उक्त च्याउबाट पोहोर साल साँढेदुईलाख आम्दानी भएको उनले सुनाईन ।

यसबर्ष भने थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चारलाख सम्म आम्दानी हुने उनको ठम्याई छ । जुनसुकै रोगीकोे लागि हुने तथा रोगसंग लडन् सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यवर्दक सिताके च्याउ खरिदका लागि स्थानीय समेत आउने गरेका छन् । तर व्यक्तिलाई भन्दा बजारमा पु¥याउन सके राम्रो आम्दानी हुने उनको भनाई छ । सिताके च्याउको व्यवसाय बढाउन थप एकहजार मुढा थप्ने सोचमा छिन उनी । उनका अनुसार सिताके च्याउ विशेषगरेर उत्तिसको र कटुसको मुढामा हुनेगर्दछ । उतिस भन्दा कटुसको मुढामा फस्टाउने भएपनि अभाव भएकोे उनको कथन छ । च्याउ उत्पादनका लागि सुरुमा आफ्नै लगानीबाट सुरु गरेकी सितालाई बागमति प्रदेश सरकार नमुना कृषि फर्म स्थपना कार्यक्रम अन्र्तगत १५ लाख प्राप्त गरेकी छिन् । उक्त लगानीले ट्याङ्की निर्माण, ट्रष्ट र डुमघर निर्माणमा खर्च गरिएको उनले सुनाईन ।


सिताके च्याउ संगै सीताले कन्ये च्याउ समेत उत्पादन गरेकी छिन् । ५ सय पोका राखेकी उनले अहिले सम्म ५ हजार ४ सय किलो विक्री गरेको उनले सुनाईन । उनका अनुसार यसको होलसेल भाउ प्रति केजी एकसय पचास देखि २ सय सम्म रहेको छ । च्याउ उत्पादन तथा पोका बनाउन स्थानीय महिलाहरुले समेत रोजगारी पाएका छन् । दुई जना कामदारलाई भने नियमित रोजगारी दिएको उनी बताउँछिन । आफ्नै व्यवसाय थालेकी सीताको भने पहिलो प्राथमिकता राजनीति नै रहेको उनले सुनाईन । राजनीतिमा लाग्दा आवश्यक खर्चको व्यवस्थापन गर्न व्यवसाय थालेको बताएकी सीताले भनिन्, ‘राजनीति गर्ने व्यक्तिले केही गर्नपर्छ र अरुलाई पनि सिकायत होस भनेर यो व्यवसाय थालें ।’ पार्टीका नेता कार्यकर्ताहरु अनावश्यक बरालिनु नहुने धारणा राखेकी सीताले आफ्ना पार्टीका प्रत्येक नेता कार्यकर्ताहरुले समेत आयआर्जनमुलक कुनै न कुनै श्रममा जोडिनु पर्ने तर्क पेश गरिन । आजभोली पार्टीमा श्रमप्रति विश्वास नगर्ने तर गफ मात्रै गर्नेहरुको भिड देखिन थालेको उनले सुनाईन । र त उनी बजारका गल्लि चोकहरुमा चिया गफहरुमा टहल्लिन मन पराउँदिनन् । बरु फुर्सदको समयमा व्यवसायमा र बाँकी समय राजनीति काममा व्यस्त हुन्छिन् । उनलाई उनका आमा बुबा लगाएत परिवारको समेत साथ छ ।