
जनयुद्वका ‘अखण्ड बा’ कृषि क्रान्तिमा यसरी छपक्कै लागे

दिनेश दुलाल
१० वर्षे महान जनयुद्वको त्यो कठिनपूर्ण यात्रा उनले कदापि भुलेका छैनन् । नत तत्कालिन निरंकुश सरकारले आतंककारी ठहर गर्दै शारिरिक र मानसिक यातना सहित ४ बर्ष जेलको चिसो छिंडिमा बिताएको बर्षहरुको सम्झना नै हराएको छ । जनयुद्वमा उनका जेठा छोरा नरेश कुमार श्रेष्ठ ‘सन्देश’को सहादतको घटना उनको लागि कहिल्यै बिर्षन नसक्ने पिडादायी जीवनको राँटो बसेको छ । आफ्नै क्रान्ति जीवनमा पनि उनले कम्ति सास्ती र हैरानी खेपेका छैनन् । दुस्मनको कालकोठरी रहँदा जतिबेला उनको घाँटीको अप्रेशनका कारण बोली नै बन्द थियो । उनी संकेतले कुरा गर्दथे । तरल खानेकुरा पाईपबाट खुवाएर उनको प्राण धानिएको थियो तर पनि उनीमा क्रान्ति पछिको परिवर्तनको सुखद् सपना देख्ने अविलाशा कहिल्यै हराएन र परिवर्तन विपनीमै ल्याउने अठोठमा उनी निरन्तर लागि रहे । समग्र मानव जीवनमै परिवर्तन ल्याउन चाहेका ‘अखण्ड’ ले आफ्नो व्यक्तिगत जीवनमा मात्र स्वार्थ सहितको परिवर्तन कहिल्यै चाहेनन् । बरु परिवर्तन गर्नुछ भने आफैंबाट कडा परिश्रम र मिहिनेतका साथ सुरुवात गर्नुपर्छ भन्ने मान्नेता राखेका अखण्डले बाँचुन्जेल मिहिनेत र संघर्षपूर्ण जीवनमै रमाउन चाहे । आफु सिन्को नभाँच्ने अनि मिहिनेत र परिश्रम बिना आर्थिक समृद्विको गुड्डी हाँकेर ठूला–ठूला सपना बाँढ्ने कम्युनिष्ट पार्टीमै नेता कार्यकर्ता थुप्रै छन् । यस्ता फोस्रो आदर्शपूर्ण क्रान्तिकारी गफाडी र लफ्फाजीहरुसंग अखण्डले कुनै साईनो राखेनन् । र त आज ‘अखण्ड बा’ बुढेसकालको यो उमेरमा कृषि क्रान्तिमा निरन्तर होमिएका छन् । बुढेसकालको उमेरमा तन्नेरी झै अहोरात्र खटिएका जनयुद्वका पाका नेता तौथलीका बिष्णुकुमार श्रेष्ठ उर्फ ‘अखण्ड’ बाले व्यवसायिक कृषि पेशा अंगालेका छन् । उनको यो मिहिनेत र लगानी साँच्चै युवा पुस्ताहरुको लागि लोभ लाग्दो, भर लाग्दो र रहर लाग्दो बनेको छ ।
‘आर्थिक समृद्विको आधार कृषि, उत्पादन र पर्यटनमा बिस्तार’ भन्ने नारा दिएर व्यवसायिक रुपमै कृषि उत्पादनमा लागेका अखण्ड बाका अहिले लठरम्म केरा, कागती लगाएत फलफुल व्यवसाय फस्टाएको छ । कृषि र उत्पादनलाई विस्तार गर्ने क्रममा जिल्लाको तौथली छिपिगाउँ स्थित ‘त्रिपुरा सन्देश कृषि फार्म’ ले व्यवसायिक रुपमा करिव ४० रोपनीमा केरा खेती, २० रोपनीमा कागती, ५ रोपनीमा कफी, १५ रोपनीमा चिया खेती सहित करिब ८० रोपनीमा व्यवसायिक रुपमा फलफुल खेतीको सुरुवात गरेको छ । व्यक्तिगत फर्मको रुपमा सुरुवात गरिएको यो परियोजनाका सञ्चालक उनै अखण्ड बा हुन् । यसलाई अझ बिस्तार गर्ने योजना अन्र्तगत यो बर्ष थप केरा, टिमुर र चिया खेती बढाईने उनको योजना रहेको छ । यो योजनालाई सार्थक तुल्याउन उनको अथक मिहिनेत र योगदान मिसिएको छ । उनलाई हौसला र साथ दिने उनका साँहिलो छोरा अनन्त प्रकाश श्रेष्ठ (साँहिलो छोरो अनन्त र जेठी छोरी पुष्पा समेत उनी संगै जनयुद्वमा होमिएका थिए) लगाएत परिवारको साथ सहयोग छ । र त आज व्यवसायमा उनी सफल देखिएका छन् ।
‘क्रान्तिकारीहरुको जिउने आधार आर्थिक आत्मनिर्भता बनाउन पर्छ । जुन कम्युन शिष्टमबाट व्यवसाय हुनपर्छ’ भन्ने मान्यता राखेका अखण्डले जनयुद्वको अन्त्य र शान्ती प्रक्रिया सुरुवातसंगै व्यवसाय थालेका थिए । यद्यपि कम्युन शिष्टमबाट सबै क्रान्तिकारीहरुलाई गोलबन्द गर्न नसकेपनि आफैंले थालनी गरेर नयाँ पाठ चाँही पक्कै सिकाएका छन् । सोही अनुसार उनले विगतमा लामोसाँघुमा व्यवसायिक माछा, कुखुरा र हाँस पालन गरेका थिए । त्यस्तै टेकानपुर दाबीमा ५० रोपनी क्षेत्रफलमा बाख्रापालन र कुरिलो खेती पनि गरेका थिए तर जुरेको पहिरोले पुरिदा करिब २५ लाख क्षति भएको उनी बताउँछन् । त्यस्तै २०७२ सालको बिनासकारी भूकम्पले सबै व्यवसायलाई नोक्सानी पु¥याएको उनको कथन छ ।
जिल्लामा हजारौं रोपनी खेतीयोग्य जमिनहरु अहिले बाँझो अवस्थामा रहेका छन् । ती जमिनहरुमा व्यवसायिक रुपमा उत्पादनमा लाग्न युवाहरूलाई अभिप्रेरित गर्ने हो भने खाद्यान्न, तरकारी र फलफुलमा सिन्धुपाल्चोक आत्मनिर्भर बन्न सक्ने उनको बलियो तर्क छ । कम्युनिष्ट पार्टीले समेत कम्युन शिष्टममा आधारित सामुहिक खेतीको सुरुवात गर्नुपर्ने धारणा राखेका अखण्डले अहिले नेता कार्याकर्ताहरुमा देखिएको अल्छिपनप्रति उनले गहिरो चिन्ता व्यक्त गरे । अबका युवा पुस्ताहरले आफुबाट सिक्न समेत उनले आग्रह गरे ।
आफुलाई व्यवसाय सञ्चालन गर्न त्रिपुरासुन्दरी गाउँपालिकाले समेत हौसला बढाएकोमा उनले खुशी व्यक्त गरे । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठलाई उनले धन्यवाद समेत दिए । गएको स्थानीय चुनावमा भुपेन्द्र अखण्डका चुनावी प्रतिश्पर्धी हुन् । थोरै मतले अखण्ड पराजित भएका थिए । आफ्नो चुनावी प्रतिश्पर्धी भएपनि बुबा समानका अखण्डलाई पालिका अध्यक्ष श्रेष्ठले कृषि व्यवसाय सञ्चालनको लागि हौसला र पालिकाको तर्फबाट अनुदान समेत उपलब्ध गराएका छन् । यस योजनमा त्रीपुरासुन्दरी गाउँपालिकाबाट केरा खेतीको लागि ५ लाख र चिया खेतिको लागि ५ लाख अनुदान सहयोग प्राप्त भएको अखण्डले बताए । आफ्नै वडाका वडाअध्यक्ष विष्णुभक्त श्रेष्ठले प्राविधिक सहयोग र कृषि शाखाका पदम शाहीले समेत सहयोग पु¥याएका छन् ।
यस्तो छ अखण्डको राजनीति जिवन
उनी २०४० सालमा पिस्कर हत्याकाण्ड पछि कम्युनिस्ट बिचारधारामा लागे । तर तत्कालिन प्रहरी प्रशासनद्वारा घर बस्न नदिएपछि उनी त्यतिबेलै भुमिगत भएका थिए ।
२०५२ साल देखि नै नेकपा माओवादीमा क्रियासिल रहेका अखण्ड २०५५ सालमा भुमिगत भएका थिए । २०५७ सालमा घाटिको नसाको रोगको कारण करिब ५ बर्ष मुखबाट खान नसक्ने गरि बिरामी समेत भएका थिए ।
२०५८ पुस १६ गते तत्कालिन शाही नेपाली सेनाबाट गिरफ्तार भै उनी ४ बर्ष जेल बसी २०६१ सालमा जेल मुक्त भएसंगै पुनः सोही पार्टीमा क्रियासिल भएका हुन् ।
यसरी त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा हुँदा पराजय व्यहोरेका अखण्ड अहिले कृषि व्यवसायमा लछप्पै लागेका छन् । उनले केरा व्यवसाय २०७६ बाट, कागती २०६९, कफी २०६७ बाट सुरुवात गरेका हुन् । यो बर्ष आलु, गाई तिल र झुसे समेत गरी ६ रोपनिमा शुरुआत गर्ने योजनामा छन् । चियाको नयाँ ब्रान्ड र सिस्नुको धुलोको ब्रान्ड बनाएर बजारिकरण गर्ने तयारीमा रहेको उनले बताए । कम्पोस्ट मल समेत आफै बनाउन थालेका अखण्डको व्यवसाय यतिबेला जिल्लामा निकै चर्चामा रहेको छ ।
अखण्डका भतिज संविधानसभा सदस्य राजकुमार श्रेष्ठको पनि योजनामा सहभागिता रहेको उक्त व्यवसायमा उनका साँहिला छोरा अनन्त प्रकाश श्रेष्ठले बजार व्यवस्थापन र अन्य प्राबिधिक सहयोग गर्ने गरेको उनले बताए ।