सिन्धुपाल्चोकमा फेरी एक साता लकडाउन थपियाे, झन कडाई गरिने
भदाै ७, चाैतारा (सिन्धुपाल्चाेक) सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउनलाई पुनः निरन्तरता दिने निर्णय भएको छ । अाज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समिति (डिसीएमसी) को बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । भदाै १४ गते राती १२ बजे सम्मका लागि लकडाउन थपिएकाे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुज्वालालाई बताए । एकसाताकाे लागि थपिएकाे लकडाउन भाेलीबाट झन कडाई गरिने प्रजिअ ढकालले जानकारी दिए ।
गत हप्ता जारी गरेकाे लकडाउन अाज सकिएपनि कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको उनले स्पष्ट पारे । उनका अनुसार बैठकले कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले बताए ।
याे निर्णयसँगै कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।
होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।
हालसम्म जिल्लामा ८६ जनामा संक्रमण देखिएकामा ७४ जना निकोभई घर फर्केका छन ,३ जनाको मृत्यु भएको र ९ जना उपचारत छन् ।
लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।