बाह्रविसे नगरपालिकाद्वारा जथाभावी सामग्री वितरणमा रोक

बाह्रविसे (सिन्धुपाल्चोक) । बाह्रसबिसे नगरपालिकाले नगरको अनुमति बिना जथाभावी सामग्री वितरण गर्न रोक लगाएको छ । सहयोगको नाममा संक्रमण बढाउने गरी केही व्यक्ति तथा संस्थाले नगरको अनुमति विना नै जथाभावी सामग्री वितरण गरेको भन्दै नगरपालिकाले सूचना नै जारी गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि आउने बाहिरी सहयोगलाई नगरको एकद्वार प्रणाली मार्फत गर्ने उद्घोष समेत गरेको छ । विश्वभर माहामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले अधिराज्यभर लकडाउन गरेको अवस्थामा त्यसलाई उलंघन गर्दै सहयोगको नाममा जथाभावी हुन थालेपछि नगरपालिकाले एकद्वार मार्फत गराउन कडाई गरिएको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए ।
’जिल्ला प्रशासनले समेत भिडभाड नगर्न रोक लगाएको यस्तो संवेदनशिल अवस्थामा सहयोगको नाममा जथाभावी भएको हामीले पायौं‘, नगरप्रमुख शेर्पाले भने, ’समुदायलाई सहयोग गर्ने नाममा बाह्रबिसे नगरभित्र कुनै संघसंस्था, व्यक्तिगत वा सामुदायिक स्वास्थ्य सामग्रीहरु तथा अत्यवश्यक खाद्यसामग्रीहरु नगरमा समन्वय गरेर मात्र ल्याउन पाईन्छ ।‘
नेपाल सरकारले लकडाउन मार्फत निषेधित गरिएका ठाउँहरुमा सहयोगको नाममा हुलहुज्जत गर्ने तथा सर्वसाधारणलाई भेला गरिएको देखिएकाले नगरपालिकाले सूचना नै प्रकाशन गर्न परेको उनले बताए । मानवीय सेवामा कोही कसैले सहयोग गर्न चाहे नगरपालिकासंग समन्य गरेर एकद्वार प्रणाली मार्फत गराईने उनले स्पष्ट पारे ।
नगरपालिकाद्वारा आज प्रकाशित सूचना अनुसार नगरपालिकाको मर्म र भावनालाई सहयोग गर्न समेत नगरप्रमुख शेर्पाले अनुरोध गरेका छन् ।
स्मरण रहोस पूर्व स्वास्थ्य राज्य मन्त्री तथा पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका मोहनबहादुर वस्नेतले हिजो राहत वितरणको नाममा अनावश्यक हुल जम्मा गर्ने काम गरिरहेका थिए । बस्नेतले ठूलो संख्यामा कार्यकर्तासहितको टोली लिएर सडक मजदुरलाई राहत भन्दै केही चामल, नुन लिएर लकडाउनको उल्लङ्घन गरेका थिए ।
नगरपालिकाले जारी गरेको यस्तो छ सूचना–