सरसफाईमा युवाहरु आफैं कस्सिए

निर्मल बस्नेत
चौतारा । चौतारा बजार सरसफाइ र स्वच्छताका लागि युवा,विद्यार्थीहरूले अभियान थालेका छन् । फोहोर मैला जथाभावी फाल्नाले वातावरण दुर्गन्धित हुने, विभिन्न प्रजातिका किटाणुहरुको संक्रमण रहने र रोग तथा महामारी समेत निम्तने खतारा निम्तन नदिन उनीहरु आफैं खटिएका हुन् । यस अघि बजार सरसफाई गर्न कुनै दिवसका अवसरमा सरकारी कार्यालयका प्रमुखहरु तथा सेना प्रहरी मात्रै सरसफाईमा खटिएकोमामा पछिल्लोपटक युवाहरु आफैं अग्रसर देखिएका छन् । उनीहरुले चौतारा बजारका स्थानीयलाई पनि सरसफाई गर्न हौसाएका छन् । युवाहरुले समयमै फोहोर मैला व्यवस्थापन गर्न सरसफाइ कार्यक्रम तथा सचेतना अभियानको थालनी आईतबारबाट सुरुवात गरेका छन् । चौतारा पुरानो बजारमा अवस्थित कृष्ण मन्दिर, भिमसेन मन्दिर र गणेश मन्दिर परिसरमा फोहोर मैला संकलन गरि झाडु लगाई, झारपात उखेलेर सफा गरिएको छ । सुन्दर र सफा बजारका लागि निरन्तर आवश्यकता अनुसार सरसफाइ, सचेतना कार्यक्रम गर्ने, बजारमा ड्रस्टवीनको व्यवस्था, बजार पार्किङ निषेध गर्न समेत वडा समक्ष युवाहरुले अनुरोध गरेका छन् । उक्त अभियानका अध्यक्ष प्रल्लाद वि.क. रहेका छन् । त्यस्तै वडा युवा क्लाव र वडा स्तरीय बाल क्लवको आयोजनमा अभियान सञ्चालन गरिएको हो । अभियान फोहोर संकलनमा भन्दा स्थानीयलाई सचेत र सक्रिय गराउने मुख्य उदेश्य रहेको वडा स्तरीय बालक्लबका अध्यक्ष सुप्रिन्स कसजूले बताए । आगन्तुक पाहुना र पर्यटकलाई समेत ध्यानमा राखि मुख्य चोक–चोकमा पम्प्लेट र पोष्टरको समेत व्यवस्था गरी जथाभावी दुषित फोहोर फाल्न नियन्त्रण गर्ने अभियान्ता मध्येका एक सहयोगी संस्था विश्व उपभोक्ता महासंघ नेपाल, सिपाका अध्यक्ष सुवास गौतमले जानकारी दिए । साथै अब क्रमिक रुपमा वजार सफा र सुन्दरता कायम राख्न जथाभावी पार्किङ गर्न, अनावश्यक हर्न बजाउन, व्यक्तिगत, घरायसी प्रयोजका सामाग्री सडक, पैदलमार्गमा राख्न निषेध गरिएको उनले बताए । सडकको दायाँबायाँ सम्भव रहने स्थानमा गमलामा फुल, बिरुवा रोप्ने, बजारमा छाडा कुकुर नियन्त्रण गर्न र पैदलमार्ग प्रयोगमा ल्याउनका लागि नगर र वडाको सहयोग लिई स्थानीय टोल सुधार समितिहरुसँग मिलेर अगाडि बढने गौतमले जानकारी दिए ।