कार्तिक १९, चौतारा (सिन्धुपाल्चोक) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय नीतिअनुसार आज सिन्धुपाल्चोकमा ‘राष्ट्रिय जागरण अभियान’ को भव्य समारोहकाबिच औपचारिक उदघाटन गरिएको छ । जिल्ला सदरमुकाम चौतारास्थित सहिद स्मृति भवनमा आयोजित विशेष राजनीतिक समारोहमा पार्टीका वरिष्ठ नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अभियानको उदघान गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य एवं स्थानीय एजेन्डा संकलनका लागि खटिएका प्रतिनिधिहरू, प्रदेश कमिटी सदस्य, जिल्लास्तरका नेता तथा विभिन्न जनवर्गीय सङ्गठनका अगुवाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आगामी राजनीतिक कार्यदिशाबारे महत्त्वपूर्ण विमर्श गरिएको थियो ।
‘निरङ्कुशता र अराजकताको विरोध गरौँ’ भन्ने विशेष घोषणा र मूल नारा
अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि अग्निप्रसाद सापकोटाले पार्टीले तय गरेको केन्द्रीय नीति अनुरूप ‘निरङ्कुशता र अराजकताको विरोध गरौँ’ तथा ‘राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ’ भन्ने विशेष राजनीतिक नारा र प्रतिवद्धता सार्वजनिक गरे । उनले देश वर्तमान समयमा जटिल राजनीतिक र आर्थिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै जनतामा जागरण फैलाउन यो अभियान कोशढुङ्गा साबित हुने उदघोष गरे । पार्टीले राष्ट्रिय स्वाधीनता, जनअधिकारको संरक्षण र जनजीविकाका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने विशेष राजनीतिक घोषणा समेत सो अवसरमा गरिएको छ ।
जिल्लास्तरीय नेतृत्व र पालिका तहको जिम्मेवारी बाँडफाँड
सङ्गठन सुदृढीकरण तथा आसन्न स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर सुरु भएको यो अभियान जिल्लाभर व्यापक रूपमा सञ्चालन गर्न नेतृत्व तोकिएको छ । पार्टी स्रोतका अनुसार अभियानलाई व्यवस्थित बनाउन सिन्धुपाल्चोकका केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको र प्रदेश सदस्यहरूलाई वडा स्तरको कमान्ड सम्हाल्ने विशेष जिम्मेवारी सुम्पिएको छ ।

यसअघि केन्द्रीय तहमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उदघाटन गरिसकेको यो अभियान अब सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका कुना–काप्चासम्म पुग्नेछ । दुई महिनासम्म चल्ने यस अभियानका क्रममा टोल–टोलमा पुगेर जनताका प्रत्यक्ष गुनासा सुन्ने, स्थानीय विकास निर्माणको अनुगमन गर्ने, संगठन विस्तार गर्ने र पार्टी सदस्यता नवीकरणका कामहरूलाई तीव्र गतिमा अघि बढाइने जिल्ला नेतृत्वले जनाएको छ ।
प्रतिक्रिया