कार्तिक १७, थाङपालधाप । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले पहिलोपटक सडक कालोपत्रे गर्ने कार्यको सुरुवात गरेको छ । सीमित आन्तरिक आयस्रोत र आर्थिक चुनौतीका बाबजुद गाउँपालिकाले आफ्नै क्षेत्रभित्र सडक कालोपत्रे गर्ने काम अघि बढाएको हो ।

गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, वडाध्यक्षलगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा आज मेलम्ची–तिपेनी–भोताङ सडकखण्ड अन्तर्गत गाउँपालिकाको गेट आसपास र गाइपाइले क्षेत्रबाट कालोपत्रे गर्ने कार्यको थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आन्तरिक आयस्रोत अत्यन्तै न्यून रहेको र विभिन्न निकायबाट सडक कालोपत्रेका लागि पटक–पटक आश्वासन मात्रै प्राप्त भएपछि उपलब्ध स्रोतसाधनलाई उपयोग गर्दै भए पनि कामको सुरुवात गरिएको अध्यक्ष टासी लामाले बताए । । उनले सीमित बजेटका बाबजुद गाउँपालिकाको विकास र सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर कालोपत्रेको काम अघि बढाइएको उल्लेख गरे ।
निर्माणको जिम्मा पाएको भदौरे गणेश निर्माण सेवाले आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरेको छ । निर्माण व्यवसायी राम नेपालका अनुसार उक्त सडक कालोपत्रेका लागि २ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको छ ।
गाउँपालिकाका अनुसार पहिलो चरणमा करिब एक किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । हाललाई गाउँपालिकाको गेट आसपास र गाइपाइले क्षेत्रबाट काम सुरु गरिनेछ ।
मेलम्ची–तिपेनी–भोताङ सडक पाँचपोखरी थाङपाल गाउँपालिकालाई जिल्ला सदरमुकाम तथा अन्य क्षेत्रसँग जोड्ने महत्वपूर्ण सडक हो । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध पाँचपोखरी पुग्ने प्रमुख मार्गसमेत रहेकाले यस सडकको स्तरोन्नति र कालोपत्रेले स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि सडक स्तरोन्नति र कालोपत्रेको प्रतीक्षामा रहेका स्थानीयका लागि गाउँपालिकाले सुरु गरेको यो काम पूर्वाधार विकासको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ । सीमित आयस्रोतका बाबजुद आफ्नै क्षेत्रको सडक कालोपत्रे गर्ने काम थाल्नुले गाउँपालिकाको विकासप्रतिको प्रयास र प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ ।
प्रतिक्रिया