२८ असोज, चौतारा । जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले जिल्लाका विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्र पारेको छ । समितले आज (बुधबार) बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाद्य स्टोरहरूमा आकस्मिक अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको उक्त अनुगमनका क्रममा विभिन्न व्यावसायिक फर्महरूमा व्यापक लापरबाही र उपभोक्ता ठगी भइरहेको फेला परेको छ । अनुगमन टोलीले दुवै स्थानीय तहका गरी जम्मा २० वटा व्यावसायिक फर्महरूको फारम भरी विस्तृत अनुगमन गरेको थियो ।
होटल र खाद्य स्टोरमा चरम लापरबाही
अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्टहरूमा न्यूनतम सरसफाइ समेत नगरिएको, बासी तथा सडेगलेका खानेकुराहरू फ्रिजमा भण्डारण गरी बिक्री वितरणका लागि राखिएको पाइएको छ । त्यसैगरी, मदिरा बिक्रीको इजाजत पत्र (लाइसेन्स) नलिई अवैध रूपमा मदिरा बिक्री गरेको र खाद्यान्न स्टोरहरूमा म्याद नाघेका (डेट एक्सपाएर) सामानहरू बिक्रीका लागि राखिएको भेटिएको थियो । ग्यास स्टोरहरूले उपभोक्तासँग तोकिएको भन्दा बढी मूल्य लिई ग्यास बिक्री वितरण गरेको समेत अनुगमनका क्रममा फेला परेको छ ।
१ लाख राजस्व संकलन, साढे १३ हजारको सामान नष्ट

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र प्रचलित कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने १२ वटा होटल तथा खाद्यान्न स्टोर्सलाई तत्कालै जरिवाना गरिएको छ । जसबाट कुल रु. १,००,०००÷– (एक लाख) राजस्व संकलन गरिएको छ । यसैगरी, अनुगमन टोलीले बजारमा बिक्रीका लागि राखिएका रु. १३,५१०÷– बराबरको म्याद नाघेका अखाद्य तथा कमसल सामग्रीहरू जफत गरी तत्कालै नष्ट गरेको छ ।
अवैध कार्य गर्नेलाई कानुनी कारबाही हुन्छः कार्यालय प्रमुख बख्रेल
उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका कार्यलय प्रमुख त्रिपरारी बख्रेलले बजारमा उपभोक्ता अधिकार हनन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । अनुगमनबारे जानकारी दिँदै प्रमुख बख्रेलले भने, “उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण गर्नु हाम्रो मुख्य दायित्व हो । अनुगमनका क्रममा म्याद नाघेका सामान बेच्ने, बढी मूल्य लिने र अस्वस्थकर खानेकुरा खुवाउने गरेको पाइएकाले कानुन बमोजिम जरिवाना र सामग्री जफत गरिएको छ । आगामी दिनमा पनि यस्ता गलत क्रियाकलाप रोक्न अनुगमनलाई अझ प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउनेछौँ ।’

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको उक्त संयुक्त अनुगमनमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालयका कर्मचारी तथा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पत्रकार लगायतको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया