१ घण्टा अगाडि

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण; पीडित भन्छन– ‘हाम्रा लागि यो सिंहदरबार हो’

Text Size


असोज २७, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन् । दुई कोठा, शौचालय र ५०० लिटरको पानी ट्याङ्की सहितका ती व्यवस्थित आवास वाईसीएल नेपालको विशेष पहलमा निर्माण गरिएका हुन् ।

‘भोटेकोशी बाढी विकासको गलत मोडलको असर’

आवास हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढी र त्यसले पु¥याएको अकल्पनीय क्षति प्राकृतिक विपत्ति मात्र नभएको जिकिर गरे। उनले विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडल र त्यसबाट सिर्जित जलवायु परिवर्तनका कारण नेपालले यस्तो मार भोग्नुपरेको बताए ।

कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसको असर नेपाली नागरिकले बेहोर्नुपरेको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र महासचिवसँगको भेटमा ‘जलवायु न्याय’ को विषयलाई जोडदार रूपमा उठाएको स्मरण गरे । बाढी प्रभावित क्षेत्रमा आफ्नो उपस्थितिमा गरिएको आवास निर्माणको घोषणालाई पूर्णता दिएकोमा उनले वाईसीएल टोलीलाई धन्यवाद समेत दिए ।

‘हाम्रा लागि यो सिंहदरबार हो’

लामो समयको कष्टकर बसाइपछि सुरक्षित घर पाएका बाढीपहिरो पीडितहरूको मुहारमा खुसी छाएको छ । दुःखको समयमा वाईसीएल सहयोगी बनेर आएको भन्दै स्थानीयले यसलाई नयाँ जीवनको सुरुवात भनेका छन् ।
बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले आफ्नो आधा घर बाढीले पुरेको पीडा सम्झिँदै भने, “वाईसीएलले घर बनाइदियो, मेरा लागि त यो नै सिंहदरबार हो ।” अर्का स्थानीय प्रदीप राईले यस वर्षको दसैं वाईसीएलले बनाइदिएको नयाँ र सुरक्षित घरमा मनाउन पाउने भन्दै खुसी व्यक्त गरे । स्थानीय शम्भु सिग्देलले पनि संकटको बेला युवाहरूले गाउँलाई ठूलो गुन लगाएको बताए ।

४ लाखको लागतमा यसरी बने घर

वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीका अनुसार बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल सुरक्षित ओत उपलब्ध गराउने उद्देश्यले यो विशेष अभियान सञ्चालन गरिएको हो ।
संगठनका उपमहासचिव एवं कार्यालय प्रमुख अनन्त प्रकाश श्रेष्ठका अनुसार प्रतिआवास अनुमानित चार लाख रुपैयाँ खर्च भएको छ । यो अभियानलाई नेकपाको आर्थिक तथा उत्पादन विभाग सदस्य किशोर लोहनीले प्राविधिक तथा आर्थिक समन्वय गरेका थिए भने दाताहरूबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगमा संरचना तयार पारिएको उपाध्यक्ष हरि ढकालले जानकारी दिए । आवास निर्माण, सरसफाइ र पुनर्निर्माण कार्यमा ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएको वाईसीएल बागमती प्रदेशका अध्यक्ष नरेश रन्जितले बताए ।

घर पाउने परिवारहरूः

वाईसीएलले मोतिराम राई, सुरेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोपी अधिकारी, लोकनाथ नेपाल, रमेश राई, प्रदीप राई, मीना राई, सोमप्रसाद राई, शिवराम नेपाल, हरिहर नेपाल, रामकुमार मगर, नरेश नेपाल, सरिता नेपाल, मुक्तिराम नेपाल, कोमलप्रसाद नेपाल, टीकाराम नेपाल, लालप्रसाद नेपाल, डण्डपानी घिमिरे र बुद्धलाल चित्रकार लगायतका परिवारलाई आवास हस्तान्तरण गरेको छ ।

देशैभर १० हजार स्वयंसेवक परिचालन

वाईसीएलले आवास निर्माण मात्र नभई बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार र पुनःस्थापनाको कामलाई निरन्तरता दिइरहेको छ । अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्ति अनुसार प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट तथा मोबाइल लगायतका सामग्री वितरण गरिएको छ ।


प्रभावित नागरिकको उपचारका लागि रक्तदान कार्यक्रम समेत गरिएको थियो । साथै काठमाडौंमा रहेका प्रभावित करिब १०० परिवारलाई खाना पकाउने ग्याँस र खाद्यान्न उपलब्ध गराइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको र यो अभियान आगामी दिनमा पनि जारी रहने संगठनले जनाएको छ ।

Sindhu Jwala Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।