२ घण्टा अगाडि

खेलकुदका माध्यमबाट सगरमाथामा परेको जलवायु परिवर्तनको असर विश्वसामु पु¥याउनुपर्छः मन्त्री पौडेल

Text Size

२३ असोज, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले सगरमाथालगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई खेलकुदमार्फत विश्व समुदायसम्म पु¥याउनुपर्ने बताएका छन् ।

उनले खेलकुदलाई केवल प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी वातावरण संरक्षण, जलवायु न्याय र नेपालको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने शक्तिशाली माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

हिमालयन स्पोट्र्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गतको ‘प्ले रग्बी नेपाल’ ले नेपाल रग्बी संघको सहकार्यमा काठमाडौंस्थित द सोल्टी होटलमा आयोजना गरेको ‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवाद कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त विचार व्यक्त गरेका हुन ।


जलवायु परिवर्तनको मारमा हिमालः मन्त्री पौडेलको आफ्नै अनुभव

आफू स्वयं सगरमाथा आरोहीसमेत रहनुभएका मन्त्री पौडेलले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई नजिकबाट नियालेको स्मरण गरे । विश्वका औद्योगिक तथा धनी राष्ट्रहरूले गर्ने अत्यधिक हरितगृह ग्याँस उत्सर्जनको मार नेपालजस्ता न्यून उत्सर्जन गर्ने मुलुकले भोग्नुपरिरहेको उनको भनाइ थियो ।

जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि हिमाल, हिमाली जनजीवन र प्राकृतिक सम्पदाले गम्भीर चुनौती सामना गर्नुपरिरहेकाले यस विषयलाई खेलकुदका अन्तर्राष्ट्रिय अभियानमार्फत वैश्विक बहसको केन्द्रमा पु¥याउन आवश्यक रहेको उनले उल्लेख गरे । सगरमाथालाई आधार बनाएर सञ्चालन गरिने खेलकुद गतिविधिले जलवायु परिवर्तनको तीतो यथार्थ विश्वसामु उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।


नेपालमा रग्बी खेलको विकास र चुनौती

नेपालमा रग्बी खेलको प्रचुर सम्भावना रहेको औँल्याउँदै मन्त्री पौडेलले यसको विकासका लागि सरकार, खेल संघ र निजी क्षेत्रबीच त्रिपक्षीय सहकार्य हुनुपर्नेमा जोड दिए । रग्बीलाई विद्यालय तथा समुदायस्तरदेखि नै विस्तार गर्दै खेलाडी उत्पादन, नियमित प्रशिक्षण, पर्याप्त खेल पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहभागितामा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

खेल क्षेत्रको विकासमा संस्थागत तथा नेतृत्वसम्बन्धी चुनौतीहरू रहेको चर्चा गर्दै उनले भने, “योग्यता र क्षमताभन्दा पनि व्यक्तिगत निकटता वा गुटका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्तिले खेल क्षेत्र धराशायी बन्छ । खेलको वास्तविक मर्म बुझेका र खेलाडीका समस्या पहिचान गर्न सक्ने अनुभवी व्यक्तिहरू नै नेतृत्वमा पुग्नुपर्छ ।’ खेलकुद क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन सुशासन र योग्यतामा आधारित प्रणाली (मेरिटोक्रेसी) आवश्यक रहेको उनले औंल्याए ।

राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयको आवश्यकता


आफ्नो सम्बोधनका क्रममा मन्त्री पौडेलले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीच नीतिगत उद्देश्य बुझ्ने सवालमा हुने अन्तरले विकासका काममा ढिलाइ हुने गरेको स्वीकार गरे ।

 

राजनीतिक नेतृत्वले अघि सारेका जनपक्षीय नीति तथा कार्यक्रमलाई प्रशासनिक संयन्त्रले प्रक्रियागत अल्झनमा नउल्झाई परिणाममुखी ढंगले कार्यान्वयन गर्न दुवै पक्षबीच स्पष्ट संवाद र समझदारी हुनुपर्ने उनको भनाइ थियो ।

‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवाद

काठमाडौंमा सम्पन्न यस राष्ट्रिय संवाद कार्यक्रमले नेपालमा रग्बी खेलको संस्थागत विकास, नीतिगत चुनौती, नेतृत्वको भूमिका र खेलकुदमार्फत नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने सम्भावनाबारे बृहत् बहसको उठान गरेको छ । खेलकुदलाई राष्ट्रिय गौरव, वातावरण संरक्षण र सामाजिक रूपान्तरणसँग जोड्ने प्रयासका रूपमा यस कार्यक्रमलाई सरोकारवालाहरूले एक महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् ।

Sindhu Jwala Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।