
असोज २१, चनौटे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको “जुगल भ्रमण वर्ष २०८३” को तयारी सम्बन्धी एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको प्रशासनिक केन्द्र वराम्चीस्थित गाउँसभामहलमा बुधबार आयोजित उक्त कार्यक्रम गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोको संयोजकत्वमा सम्पन्न भएको हो । छलफलमा पालिकाका उपाध्यक्ष, सम्पूर्ण वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शैक्षिक तथा सहकारी संस्थाका प्रमुखहरू, आमा समूह, पर्यटन तथा होटल व्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा “जुगल भ्रमण वर्ष २०८३” लाई सफल, प्रभावकारी, व्यवस्थित र उपलब्धिमूलक रूपमा सञ्चालन गर्नका लागि आवश्यक योजना तथा कार्यक्रम तर्जुमा, पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन, पूर्वाधार विकास, प्रचार–प्रसार तथा पर्यटनमैत्री सेवाका विषयमा व्यापक रूपमा सुझाव सङ्कलन गरिएको छ। साथै, स्थानीय समुदायको सहभागितालाई कसरी अधिकतम गराउने भन्ने विषयमा समेत विस्तृत छलफल भएको पालिकाले जनाएको छ ।

यसैबीच, जुगलको पर्यटन प्रवद्र्धन र यो ऐतिहासिक अभियानलाई सफल बनाउनका निमित्त “द जुगल गार्डियन” (The Jugal Guardian) टिमले पनि पूर्ण रूपमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरी पालिकाको आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित भ्रमण वर्षको तयारीलाई तीव्र पारिएको गाउँपालिका अध्यक्ष स्याङ्वोले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको भनाइः
“जुगल गाउँपालिका प्राकृतिक सम्पदा, धार्मिक आस्थाका केन्द्र र ऐतिहासिक स्थलहरूले भरिपूर्ण क्षेत्र हो । ‘जुगल भ्रमण वर्ष २०८३’ केवल एउटा औपचारिक कार्यक्रम मात्र नभएर हाम्रो पालिकाको आर्थिक रूपान्तरण र पहिचानको महाअभियान हो। हामी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउन पर्यटनमैत्री पूर्वाधार विकास र व्यापक प्रचार–प्रसारमा जुटेका छौँ । यस ऐतिहासिक अभियानलाई सफल बनाउन सम्पूर्ण वडा, राजनीतिक दल, संघ–संस्था र स्थानीय जनसमुदायको सहभागिता र सुझाव हाम्रा लागि मार्गदर्शक बन्नेछ ।’

यसैगरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव, समाजसेवी एवं ‘जुगल खुल्ला छ’ अभियानका अभियान्ता इश्वर गुभाजूले ‘जुगल भ्रमण वर्ष २०८३’ लाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने बताए । उनले भने, “विगतमा जुरेको पहिरो, विनाशकारी भूकम्प र भोटेकोशीको बाढी जस्ता प्राकृतिक विपत्तिले हाम्रा भौतिक संरचना र व्यापारिक क्षेत्रमा ठूलो चोट पु¥याए पनि हाम्रो सङ्घर्ष गर्ने क्षमता र सम्भावनाहरू मरेका छैनन् । प्राकृतिक सुन्दरताले सजिएको हाम्रो जुगल क्षेत्र पर्यटन र आर्थिक समृद्धिका लागि सधैं खुला र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पु¥याउन ‘जुगल खुल्ला छ’ अभियानमार्फत हामी लागिपरेका छौँ । निजी क्षेत्रको तर्फबाट उद्योगी, व्यवसायी र युवाहरूलाई उद्यमशीलतामा जोड्दै भ्रमण वर्ष २०८३ लाई व्यवस्थित, सुरक्षित र आर्थिक रूपमा फलदायी बनाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र सिंगो व्यावसायिक समुदाय पालिका सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’


प्रतिक्रिया