१ घण्टा अगाडि

राष्ट्रिय अपाङ्ग एकता केन्द्रद्वारा चौतारामा जलवायु सचेतना तथा वकालत कार्यक्रम सम्पन्न

Text Size

निर्मल बस्नेत ४ असोज, चौतारा (सिन्धुपाल्चोक) । राष्ट्रिय अपाङ्ग एकता केन्द्रले अपाङ्गता समावेशी जलवायु कार्यसम्बन्धी सचेतना अभिवृद्धि तथा वकालत कार्यक्रम सम्पन्न गरेको छ ।

युरोपियन युनियनको सहयोगमा एकता केन्द्रले सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित जुगल इनमा उक्त सचेतना कार्यशाला आयोजना गरेको हो । कार्यशालामा चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक विकास, शिक्षा, विपद् व्यवस्थापन, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, नगरस्तरीय अपाङ्गता समन्वय समिति र विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा राष्ट्रिय अपाङ्गता महासङ्घका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. मदन सिग्देलले वर्तमान विश्वको जल्दोबल्दो विषयका रूपमा रहेको जलवायु परिवर्तनका सवालमा अभिमुखीकरण गरेका थिए । अपाङ्गता अधिकार क्षेत्रका विज्ञ डा. पोखरेल र जलवायु क्षेत्रका विज्ञ डा. सिग्देलले समावेशी जलवायु चक्रका स्थापित अभ्यासहरू र आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे प्रकाश पारे ।

उनीहरुले स्थानीय सरकारले जलवायु अनुकूलनका योजनाहरू निर्माण गर्दा सबैको अर्थपूर्ण सहभागिता र पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए । सो क्रममा डा. पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (UNCRPD), अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐन २०७४, र अपाङ्गताको वर्गीकरण तथा प्रकारहरूबारे स्पष्ट पारे । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले यस अभिमुखीकरणले स्थानीय सरकारलाई आगामी दिनमा नीति निर्माण गर्न ठूलो टेवा पुगेको बताए ।

उनले चौतारा साँगाचोकगढी नगरपालिकाले सबैको पहुँच हुने गरी ऐन निर्माण र कार्यान्वयन गरिरहेको असल अभ्यासबारे जानकारी दिए । कार्यक्रममा सहभागीहरूले नगरपालिकाको प्रशासनिक भवन अपाङ्गतामैत्री नभएको गुनासो गरेपछि संयोजक गौतमले उक्त विषयलाई नगरप्रमुख र कार्यपालिका बैठकमा दृढताका साथ उठाउने आश्वासन दिए । त्यस्तै, नगर विपद् व्यवस्थापन शाखाका प्रमुख चिरञ्जीवी कट्टेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विपद् बहु सरोकारको क्षेत्र भएको बताए ।

चौतारा साँगाचोकगढीले आन्तरिक स्रोतबाटै बर्खायामको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका कार्यहरू गरिरहेको उनले जानकारी दिए । महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा भट्टराईले आफ्नो शाखाले सम्पादन गरेका असल अभ्यासबारे जानकारी दिँदै मुख्य गरी जोखिममा रहेका वर्गलाई लक्षित गरेर कार्यक्रमहरू निर्माण भइरहेको बताइन ।

सञ्चारकर्मी निर्मल बस्नेतद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सहभागीहरूले जलवायु र अपाङ्गताको अन्तरसम्बन्धका विषयमा गम्भीरतापूर्वक सामूहिक धारणा राख्दै पूर्वतयारीका उपायहरूबारे छलफल गरेका थिए । राष्ट्रिय अपाङ्ग एकता केन्द्रका अध्यक्ष टीकाराम पराजुलीले चौतारा नगरपालिकाको सुकुटे, बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा समेत छिट्टै यो सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

Sindhu Jwala Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।