१ घण्टा अगाडि

जुगलको विकट गाउँका ठिटाको राष्ट्रिय छनोटमा तहल्का, सन्दिपसहितका खेलाडी छनौटमा परे

Text Size

असोज ३, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको युथ फुटबल खेलाडी छनोट प्रतियोगिताबाट सिन्धुपाल्चोकका प्रतिभावान युवा खेलाडीहरू अन्तिम रूपमा छनोट भएपछि जिल्लाभर खुसीयाली छाएको छ ।

२०८३ भदौ २१ गते एन्फा हाउस, सातदोबाटोमा सञ्चालन भएको अन्तिम चरणको प्रतिस्पर्धाबाट छनोट सूचीको क्रमसङ्ख्या ४ मा परेका मिटफिल्डर सन्दिप श्रेष्ठसहितका खेलाडीहरू युवा टोलीका लागि छानिन सफल भएका हुन् ।


विशेष त छनोटमा पर्न सफल खेलाडीहरू सिन्धुपाल्चोकको अत्यन्तै विकट मानिने जुगल गाउँपालिका वडा नम्बर ३, तापगाउँ जस्तो दुर्गम बस्तीका रैथाने हुन् । यसअघि ८ औँ नेक्सस कप इन्टर स्कुल फुटबल प्रतियोगिता–२०८२ मा समेत उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजेता बनाएका सन्दिप र उनको समूहले भौगोलिक विकटतालाई चिर्दै राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेर देखाएका छन् ।

 

“विकट ठाउँको यो प्रगति सिन्धुपाल्चोककै इज्जत हो’ — महासचिव गुबाजु

भौगोलिक रूपमा दुर्गम र खेलकुदका न्यून पूर्वाधार भएको तापगाउँ जस्तो विकट बस्तीमा जन्मेर पनि खेलाडीहरूले खेल क्षेत्रमा गरेको यो ऐतिहासिक प्रगतिप्रति सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले गौरव व्यक्त गरेको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका महासचिव ईश्वर गुबाजुले खेलाडीहरूको सफलतामा खुसी व्यक्त गर्दै भने, ‘भौगोलिक रूपमा अत्यन्तै विकट र दुर्गम तापगाउँ जस्तो ठाउँमा जन्मेर, हुर्केर पनि खेलाडीहरूले राष्ट्रिय स्तरको एन्फा छनोटमा जुन सफलता हाँसिल गरेका छन्, यो जुगल गाउँपालिकाको मात्र नभएर सिङ्गो सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौरव र इज्जतको विषय हो । स्रोत र साधनको अभावका बीच पनि यी युवाहरूले देखाएको दृढता अनुकरणीय छ ।’

महासचिव गुबाजुले जिल्लाको नाम रोशन गर्ने ती प्रतिभावान खेलाडीहरूलाई आफ्नो तर्फबाट उचित बधाई तथा सम्मान समेत गरिने घोषणा गरेका छन् ।

स्मरण्न रहनेस एन्फा हाउसले छनोट प्रक्रियामा सफल भएका सन्दिप श्रेष्ठसहितका २० जना खेलाडीहरूलाई मिति २०८३ भदौ २५ गते साँझ १७ः०० बजेभित्र सातदोबाटोस्थित कार्यालयमा आवश्यक कानुनी कागजातसहित सम्पर्क राख्न निर्देशन दिएको थियो ।

दुर्गम गाउँबाट उदाएका यी नक्षत्रहरूलाई आगामी अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिताका लागि एन्फाले विशेष बन्द प्रशिक्षणमा राख्ने तयारी समेत गरेको जनाएको छ ।

Sindhu Jwala Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।