भदौ २८, काठमाडौँ । रसुवा,नुवाकोट लगायत क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले करिब २३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।

संस्थाले रसुवाको धुन्चे, त्रिशूली र बेत्रावती क्षेत्रमा पुगेर बाढी प्रभावित परिवारलाई दाल, चामल, सोलार तथा विभिन्न किसिमका भाँडाकुँडालगायत आवश्यक सामग्री वितरण गरेको हो। विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको संस्थाका अध्यक्ष अनिल तामाङले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेन, अस्ट्रेलियाका अध्यक्ष सोम तामाङको समेत उपस्थिति रहेको थियो । उनीसहित संस्थाका प्रतिनिधिहरूले प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था बुझ्दै राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
संस्थाले लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको र विभिन्न समयमा आइपर्ने प्राकृतिक विपत्ति तथा मानवीय संकटमा समेत सहयोग गर्दै आएको संस्थाका कुमार तामाङले बताए । बालबालिकाको शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको संस्थाले विपद्को समयमा पनि पीडित नागरिकको दुःखमा साथ दिने प्रयास गर्दै आएको उनको भनाइ छ ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सेवाका कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।
प्रतिक्रिया