२३ भदौ, सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गत वर्ष भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन वर्तमान सरकारले लुकाएको गम्भीर आरोप लगाएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित एक श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन । कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपाल र पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पनि जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिस्थितिबारे आफ्ना दृष्टिकोण राखेका थिए ।

प्रतिवेदन गायब पारिएको दाबीसंयोजक प्रचण्डले आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका प्रतिवेदनहरू अहिले गायब पारिएको बताए । “सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन दिएका छैनन्’, उनले भने । सरकारको जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि नै प्रतिवेदन गायव पारेको आरोप लागिरहेको भन्दै उनले यसबारे सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरे । आफ्नो सम्बोधनका क्रममा संयोजक प्रचण्डले जेनजी आन्दोलनमा सहभागी युवाहरूको भावना र उद्देश्यलाई अलग ढंगले बुझ्नुपर्नेमा जोड दिए ।
आन्दोलनमा ठूलो षड्यन्त्रपूर्वक घुसपैठ गराएर त्यसलाई ’हाइज्याक’ गरिएको उनको भनाइ थियो । उनले प्रश्न गरे, “त्यो घुसपैठ गर्नेहरू को थिए र तिनले अहिले देशलाई कहाँ पु¥याए ? जेनजी आन्दोलनका वास्तविक अपहरणकारी को थिए भन्ने कुरा गहिरो अध्ययनको विषय बनेको छ ।’ भदौ २३ र २४ गते भएका विध्वंसात्मक घटनाहरू कसले गराएको हो भन्ने कुराको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनले बताए ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शासकहरूको दम्भ र गल्तीका कारण नै जेन–जी विद्रोह निम्तिएको विचार व्यक्त गरे । उनले भने, “जेनजी पुस्ताको आन्दोलन लोकतन्त्र समाप्त गर्नका लागि होइन, बरु त्यसलाई अझ जनपक्षीय र सुदृढ बनाउने उद्देश्यले गरिएको थियो ।’ तर, केही तत्वहरूले आन्दोलनमा घुसपैठ गरी यसलाई अपहरण गरेर लोकतान्त्रिक प्रणाली नै खारेज गर्ने षड्यन्त्र गरेको उनले दाबी गरे । नेता नेपालले वर्तमान संकट समाधानका लागि संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै निर्धारित समयमै प्रतिनिधि सभाको निर्वाचन सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

त्यसैगरी पूर्व सभामुख एवं पार्टीका नेता अग्निप्रसाद सापकोटाले आन्दोलनका क्रममा भएका क्षति र त्यसपछिको अन्योलप्रति चिन्ता व्यक्त गरे । उनले आन्दोलनका क्रममा राजनीतिक प्रतिशोधका आधारमा भएका आगजनी र भौतिक संरचनाहरूको विनासका घटनाहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । “जेनजी आन्दोलनका क्रममा जे–जति आयोग र छानबिन समितिहरू बने, तिनका प्रतिवेदन दराजमा थन्क्याएर राख्नु हुँदैन’, नेता सापकोटाले भने ।

सरकारले ती प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन ढिलाइ गर्न नहुने माग गरे । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरु लगाएत जिल्लाका नेताहरु सहभागी थिए ।
स्मरण रहोस गत वर्ष भदौ २३ र २४ गते भएको युवा लक्षित जेनजी प्रदर्शनका क्रममा ठूलो धनजनको क्षति भएको थियो । उक्त घटनाको अनुसन्धानका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग तथा मानवअधिकार आयोगले छुट्टाछुट्टै प्रतिवेदन बुझाए पनि सरकारले तिनको पूर्ण कार्यान्वयन र सार्वजनिकीकरणमा ढिलाइ गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया