भदौ २२, सिन्धुपाल्चोक । रसुवामा आएको बाढीका कारण चीनको केरुङ नाकामा फसेका नेपाली नागरिकहरूलाई उद्धार गरी काठमाडौँ पठाइएको छ।

चीन सरकारले उनीहरूलाई तातोपानी नाका (लिपिङ) सम्म ल्याइदिएपछि बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको समन्वयमा काठमाडौँ पठाइएको हो ।

तातोपानी नाका आइपुगेका रसुवा लगायत विभिन्न जिल्लाका नागरिकहरूलाई काठमाडौँसम्म पुर्याउनका लागि बाह्रबिसे नगरपालिकाले तीनवटा सार्वजनिक बसको व्यवस्था गरेको छ। बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले सिन्धु ज्वालालाई दिएको जानकारी अनुसार बाढी पीडित नागरिकहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन नगरपालिकाले यो कदम चालेको हो ।
नगरप्रमुख बस्नेतका अनुसार बाढीका कारण केरुङ नाकामा फसेका नागरिकहरू नेपाल फर्कने क्रम जहिलेसम्म जारी रहन्छ, त्यतिबेलासम्म बाह्रबिसे नगरपालिकाले निःशुल्क गाडीको व्यवस्था गरिरहने छ।
आज तातोपानी नाकाको लिपिङ आइपुगेका ती नागरिकहरूलाई बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको संयुक्त समन्वय, सहयोग र व्यवस्थापनमा काठमाडौँ पठाइएको हो। नाकामा अलपत्र परेका नागरिकहरूले उद्धार र यातायातको व्यवस्था भएपछि राहत महसुस गरेका छन्।
प्रतिक्रिया