सिन्धुपाल्चोकको ठुलोसिरुबारीमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न (नयाँ प्रविधिसहित)(फोटो फिचरसहित)
दिनेश दुलाल
असार १५ (२०८३), चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३, ठुलो सिरुबारीस्थित मार्से खोलामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा र समृद्धि’ भन्ने मूल नाराका साथ यस वर्षको धान दिवस मनाइएको हो ।

उक्त विशेष समारोह कृषि विकास कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (क्लस्टर इकाइ सिन्धुपाल्चोक) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमलाई स्थानीय अभियान कृषि सहकारी संस्था लिमिटेड (वडा नम्बर १३) ले सहयोगी संस्थाको रूपमा विशेष समन्वय र सहयोग पु¥याएको थियो ।
नयाँ प्रविधिबाट धान रोपाइँको शुभारम्भ

यस वर्षको रोपाइँ महोत्सवमा परम्परागत शैलीभन्दा फरक, आधुनिक र वैज्ञानिक पद्धतिको प्रयोग गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख (मेयर) कृष्णप्रसाद सापकोटाले धान रोप्ने नयाँ प्रविधिको प्रयोग गरी रोपाइँ कार्यको औपचारिक शुभारम्भ गरेका थिए ।
सो अवसरमा बोल्दै नगरप्रमुख सापकोटाले कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोगविना उत्पादन बढाउन नसकिने उल्लेख गरे । उनले स्थानीय तहले कृषकहरूलाई प्रविधिमैत्री बनाउन र प्रोत्साहन गर्न सधैँ साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
धानको जातीय प्रदर्शन र प्रविधि विकास

महोत्सवको अवसरमा आधुनिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नवीनतम प्रविधि प्रदर्शन गरिएको थियो । कृषि विकास कार्यालय धुलिखेलका कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार कार्यक्रममा धानको जातीय (बीउका विभिन्न प्रजाति) प्रदर्शन समेत गरिएको थियो । यस प्रदर्शनले कृषकहरूलाई आफ्नो माटो र हावापानी सुहाउँदो, बढी उत्पादन दिने धानको जात छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पुग्ने प्रमुख दवाडीले बताए ।

परम्परागत खेती प्रणालीमा श्रम र समय बढी लाग्ने हुँदा कृषिमा युवा वर्गको आकर्षण बढाउन र उत्पादन लागत घटाउन यस्ता नयाँ प्रविधि र उन्नत बीउको प्रयोग कोशेढुङ्गा साबित हुने उपस्थित कृषि विज्ञ तथा सरोकारवालाहरूको भनाइ थियो ।

समारोहमा स्थानीय जनप्रतिनिधि, कृषि विज्ञ, सहकारीका पदाधिकारी तथा ठुलो सङ्ख्यामा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाएर रोपाईं महोत्सवलाई उत्सवका रूपमा मनाएका थिए ।

कार्यालय प्रमुख दवाडीका अनुसार नवीनतम प्रविधि प्रदर्शन कार्यक्रम ÷धानको जातीय प्रदर्शनको लागि कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले सहयोग गरेको हो । जस अनुसार धानको बिउ हार्दीनाथ हाइब्रिड १, युएस ३१२, हर्दिनाथ हाइब्रिड १४२ र जि–१० जस्ता धानका बिउ कार्यालयले त्यहाँका एक कृषकलाई सहयोग गरेको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुबारीका कृषक गणेश ढुंगेललाई प्रतिरोपनि साढे दुई केजीका दरले बिउ तथा मलखाद सहयोग गरिएको थियो भने सूक्ष्म खाद्यतत्त्व ३ केजी चिलेटजिङ समेत सहयोग गरिएको थियो ।


असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर गरिएको रोपाई महोत्सवमा कृषि विकास धुलिखेल कार्यालयले सेमी अटोमेटेड राइस ट्रान्सप्लान्टर मेसिनद्वारा करिब पाँच रोपनि क्षेत्रफलमा धान रोपाई गरिएको हो । नयाँ प्रविधिद्वारा सुरुवात गरिएको धान रोपाई किसानहरूको लागि नयाँ प्रविधिको हस्तान्तरण भएको खेतधनी दुर्गा ढुंगेल बताउँछन् ।

