सिन्धुपाल्चोकमा २ करोड ६९ लाख बढीको अवैध भेपसहित एक जना पक्राउ
असार ९ चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले तातोपानी नाकाबाट भन्सार छली गरी अवैध रूपमा काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका–३ खाडलस्थित सडक खण्डमा गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद बोलेरो गाडीलाई जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो ।
गाडीबाट कुल ७ हजार ७ सय थान भेप बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
अवैध भेप ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई नियन्सत्रणमा लिएको छ। पक्राउ परेका श्रेष्ठ र बरामद गरिएको बोलेरो गाडीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय वा राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
तातोपानी नाकाबाट पछिल्लो समय भइरहेको अवैध सामान तस्करी नियन्त्रणका लागि सिन्धुपाल्चोक प्रहरीले आफ्नो गस्ती र निगरानीलाई तीव्र पारेको छ।

