पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब विजयी
जेठ २८, थाङपालधाप । पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करणमा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब विजयी भएका छन् ।

विहीबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हेलम्बुले ठूलो जित दर्ता गर्दा पाँचपोखरी हिमालयनले पनि प्रभावशाली प्रदर्शन गर्यो । अर्को खेलमा हेलम्बु गाउँपालिकाले थाङपाल भ्याली माध्यमिक विद्यालयलाई २४४ रनको विशाल अन्तरले पराजित ग¥यो ।
टस जितेर पहिले ब्याटिङ गरेको हेलम्बुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३०१ रनको विशाल योगफल खडा गरेको थियो । हेलम्बु सचिन लेखकले ऐतिहासिक प्रदर्शन गर्दै ७५ बलमा १२ चौका र २० छक्कासहित अविजित २०९ रन प्रहार गरे । विनोद तामाङले २३ बलमा ४९ रनको विस्फोटक योगदान दिएपछि हेलम्बुले ३०० रनको आँकडा पार गरेको थियो ।
३०२ रनको लक्ष्य पछ्याएको थाङपाल भ्याली १५ ओभरमा ५७ रनमै अलआउट भयो। दीपक भण्डारीले सर्वाधिक १० रन बनाए भने कुनै पनि ब्याटरले प्रभाव छाड्न सकेनन् । हेलम्बुको बलिङमा विनोद तामाङले २ विकेट लिए भने नम्खाङ दोर्जे शेर्पा, पेम्बा शेर्पा, मनोज यादव, दोर्जे छिरिङ, उर्केन ह्योल्मो र कप्तान विवेक तामाङले समान १–१ विकेट हात पारे ।
अर्को खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले साँगाचोक युथ क्लबलाई ९७ रनले हरायो। टस जितेर ब्याटिङ रोजेको हिमालयनले १३ ओभरमा ३ विकेट गुमाउँदै १३० रन बनायो । सुमन सुनारले ५१ बलमा ५ चौका र ४ छक्कासहित अविजित ८४ रनको शानदार इनिङ्स खेले। कप्तान पेम्बा तामाङले ७ बलमा १५ रन तथा कर्मा तामाङले १४ रन जोडे ।
जवाफमा साँगाचोक युथ क्लब ६ ओभरमै ३३ रनमा समेटियो । सक्रिया प्रताप कार्कीले ३ बलमा १२ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन् । पाँचपोखरी हिमालयनको बलिङमा अजय तामाङ घातक सावित भए। उनले २ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए। कर्मा तामाङले २ तथा विश्वास खत्री र रिन्जिन तामाङले समान १–१ विकेट लिएपछि साँगाचोक युथ क्लबको इनिङ्स धराशायी बनेको थियो ।
प्रतियोगिताको चौथो दिन दुई एकतर्फी खेल देखिए । हेलम्बुका सचिन लेखकको अविजित दोहोरो शतक र पाँचपोखरी हिमालयनका सुमन सुनारको उत्कृष्ट अर्धशतक दिनका मुख्य आकर्षण बने । लगातार प्रभावशाली प्रदर्शन गरिरहेका हेलम्बु र पाँचपोखरी हिमालयन दुवैले उपाधि दाबेदारीलाई थप बलियो बनाएका छन् ।

