सिन्धुपाल्चोकका लिदी, पांगर्पु, बोल्दे र गुम्बा मोटरेबल पुलले जोडियो
जेठ १४, चनौटे । सिन्धुपाल्चोक जिल्लाका विकट गाउँहरू लिदी, पांगर्पु, बोल्दे र गुम्बा अब मोटरेबल पुलले जोडिएका छन् ।
ब्रम्हायणी नदीमा पक्की पुल निर्माण सम्पन्न भएसँगै यी गाउँहरूमा बाह्रै महिना सवारी साधनको पहुँच पुग्ने भएको छ । ५१ मिटर लम्बाई तथा ४.२ चौडाई रहेको ब्रम्हायणी नदीपुलको कुल लगानी ७ करोड रुपैयाँ लागत रहेको छ ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको अनुरोधलाई स्वीकार गरेर बलेफी इनर्जी हाइड्रोपावर कम्पनी (४० मेगावाट) ले विद्युत उत्पादन सुरु गर्नु अगावै प्रभावित क्षेत्रका लागि यो पुल बनाएको हो ।

पक्की पुल बनेसँगै बर्खामा पनि यी गाउँमा गाडीको पहुँच पुग्ने भएको छ । पालिका अध्यक्ष स्याङ्बो र हाइड्रोपावर कम्पनीका प्रमुख दीलसुन्दर श्रेष्ठले समझदारी गरेर गत साल वैशाखबाट पुल निर्माण सुरु गरिएको थियो ।
जुगल गाउँपालिका वडा नं. २ को लिदी र वडा नं. ३ का पांगर्पु, बोल्दे तथा गुम्बामा गरी तामाङ समुदायका १ हजारभन्दा बढी घरपरिवारलाई प्रत्यक्ष सहजता हुने जनाइएको छ ।
यो पुल बनेसँगै प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरी जान समेत धेरै सहज भएको छ । पुल नहुँदा विगतका वर्षहरूमा स्थानीय बासिन्दाले बर्खायाममा वारिपारि गर्न नसक्ने ठूलो समस्या झेल्दै आएका थिए । १३ महिनामा ब्रम्हायणी नदीमा पक्की पुल बनाएपछि प्रभावित क्षेत्रका स्थानीय खुसी भएका छन् ।

