वाग्मति प्रदेश सरकारले युवाहरुलाई २ प्रतिशत व्याजदरमा ऋण दिने

जेष्ठ १४ भक्तपुर । वाग्मती प्रदेश सरकारले युवालाई लक्षित गर्दै आगामी बजेटमार्फत २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने तयारी गरेको छ । शैक्षिक वा सीपमूलक तालिमको प्रमाणपत्रका आधारमा युवाले न्यूनतम १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागिएको वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताए ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बुधबार आयोजित ग्रान्ड ब्यूटी एक्स्पो उदघाटन कार्यक्रममा मन्त्री थापाले युवामैत्री बजेट निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार स्वरोजगारमूलक व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न लागेको हो । ‘स्वरोजगारमूलक व्यवसायका लागि २ प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था बजेटमै समावेश गर्दैछौं’, उनले भने ।

प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री थापाले युवालाई रोजगार खोज्नेभन्दा उद्यम सिर्जना गर्ने दिशातर्फ केन्द्रित गरिने बताए ।
कार्यक्रममा मन्त्री थापाले प्रदेशका अस्पतालमा प्रविधिमैत्री सेवा विस्तार भइरहेको जानकारी समेत दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले सिन्धुली अस्पताल, चौतारा अस्पताल, धादिङ अस्पताल र बकुलहर अस्पतालबाट ‘पेपरलेस सेवा’ परीक्षण सुरु गरिसकेको छ । आगामी आर्थिक वर्षदेखि बागमती प्रदेशका १३ वटै अस्पतालमा पेपरलेस प्रणाली लागू गरिने उनले बताए ।

उनले पेपरलेस प्रणालीले सेवा प्रवाह छिटो, व्यवस्थित र सुरक्षित हुने दाबी गरे । साथै भक्तपुर अस्पताल, धादिङ अस्पताल, नुवाकोट अस्पताल, सिन्धुली अस्पताल र बकुलहर अस्पतालमा प्रदेश सरकारकै पहलमा नर्सिङ शिक्षाको पढाइ सुरु गरिने समेत जानकारी दिए ।
युथ इको नेपालको आयोजनामा जारी एक्स्पोमा देशभरबाट करिब २ हजार सौन्दर्य तथा साजसज्जा क्षेत्रसँग सम्बन्धित व्यवसायी, पेशाकर्मी, कलाकार तथा इच्छुक सहभागी थिए ।