‘जुगल गार्डिएन्स’ १२ जनाको टोली जुगलको भ्यु प्वाइन्ट तर्फ जाँदै

दिनेश दुलाल
जेष्ठ १४, काठमाडौं । जुगल गार्डिएन्सको टोली सिन्धुपाल्चोकको जुगल क्षेत्रमा पुरानै पर्यटकीय रुट पहिल्याउन ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ तर्फ प्रस्थान गरेको छ ।

काठमाडौंबाट बुधबार हिडेको उक्त १२ जनाको टोली जुगल हिमालको पुरानै पदमार्ग (रुट) पहिल्याउन गौरव श्रेष्ठको नेतृत्वमा १२ जनाको टोली त्यस तर्फ प्रस्थान गरेको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमाल काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने बेस क्याम्प र भ्यु प्वाइन्ट क्षेत्र हो ।

ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूलाई जोड्दै पर्यटकका लागि छोटो र सुलभ पदमार्गको विकास गर्न थालिएको उक्त अभियान सिन्धुपाल्चो उद्योग वाणिज्य संघका महासचिव एवं सामाजिक अभियान्ता इश्वर गुभाजूको सहयोगमा उक्त अभियान थालिएको हो । जुगल भ्यु प्वाइन्ट र यस आसपासका क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित गर्नको लागि आफुले सहयोग गरेको उनले बताए । जुगल गार्डिएन्स नाम दिएको उक्त टोली ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ पुगेर १८ गते काठमाडौं फर्कने टोलीको नेतृत्व गरेका गौरब श्रेष्ठले बताए ।

उक्त टोलीमा काठमाडौंका ३ र बाँकी जुगल गाउँपालिकाका स्थानीय रहेका छन् । श्रेष्ठका अनुसार दिपु सम्म पुग्ने गाडीको सुविधा भएपनि उक्त टोली गुम्बा हुँदै जुगल बेस क्याम्प पुग्ने पुरानै रुटबाट ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ पुग्नेछ ।

पुरानै पदमार्ग सञ्चालनमा आउँदा स्थानीय बासिन्दाहरूको आयआर्जन र होमस्टे व्यवसायमा मद्दत पुग्ने उनको भनाई छ । यो क्षेत्र सिन्धुपाल्चोकको प्राकृतिक र जैविक विविधताले भरिपूर्ण हिमाली भेगमा पर्दछ ।

काठमाडौंबाट मात्र करिब १४५ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र हिमाल हेर्न र पदयात्राका लागि निकै उपयुक्त मानिन्छ । यस भ्यु प्वाइन्ट र आसपासका क्षेत्रबाट जुगल हिमशृंखलाका साथै मनोरम प्राकृतिक दृश्यहरू स्पष्ट रूपमा देख्न सकिन्छ । यो अभियानमा जुगल गाउँपालिकाको समेत सहयोग रहेको जनाइएको छ ।