सिन्धुपाल्चोकमा पर्यटकलाई बिच्क्याउन युटुवेको बिगबिगी !

बैशाख २३ (२०८३), सुकुटे । संस्कृतिमा भनिन्छ, ‘अतिथि देव भव’ अर्थात पाहुना हाम्रा ‘भगवान’ हुन । नेपाली मौलिकता अनुसार पाहुनालाई सत्कार र इज्जतका साथ सम्मान गर्ने परम्परा रहँदै आएको छ ।

यसैकारण नेपालमा आन्तरिक तथा वाह्य पर्यटकको वृद्वि भएको मानिन्छ । नेपालको आन्तरिक आम्दानीको स्रोत मध्य एउटा पिलरको रुपमा पर्यटन व्यवसायलाई लिने गरिएको छ । तर पछिल्लो समय पर्यटकहरुको सुरक्षामा चुनौति थपिएको भन्दै पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र ‘सुकुटे’ स्थित होटल तथा रिसोर्टहरुमा बसेका पर्यटकहरुलाई केही युटुवेहरुले दुःख दिएको उनीहरुको भनाई छ ।

पर्यटकहरूको गोपनीयता भङ्ग गर्ने भ्रामक भिडियो सामग्री प्रशासरण गरिएको भन्दै सिन्धु सुकुटे पर्यटन व्यवसायीले प्रेस वक्तव्य समेत जारी गरेको छ । पर्यटकीय क्षेत्र सुकुटेमा अतिथिको गोपनीयता र व्यावसायिक मर्यादा कायम राख्ने सम्बन्धमा व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानकर्षण समेत गरेका छन् ।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाद्वारा बैशाख २१ गते प्रसारित विज्ञप्तिमा भनिएको छ, ‘ सिन्धुपाल्चोक जिल्लाको सुकुटे क्षेत्र नेपालकै एक प्रमुख पर्यटकीय हबको रूपमा विकास भइरहेको तथ्य सर्वविदितै छ । सुनकोशी नदीको तटमा होटल तथा रिसोर्ट व्यवसाय सञ्चालन गर्दै आएका हामी व्यवसायीहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सामान्य देखि उच्च स्तरीय सेवा प्रदान गर्दै स्थानीय अर्थतन्त्र र राष्ट्रिय पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छौँ ।

तर, पछिल्लो समय केही व्यक्तिहरू पत्रकारको आवरणमा बिना अनुमति रिसोर्टको संवेदनशील क्षेत्रमा प्रवेश गरी पर्यटकहरूको गोपनीयता (एचष्खबअथ) भङ्ग गर्ने, भ्रामक भिडियो सामग्री तयार गर्ने र त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित ढङ्गले फैलाउने जस्ता अमर्यादित कार्यहरू भइरहेको प्रति सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

पर्यटकहरू आफ्नो व्यक्तिगत समय र मनोरञ्जनका लागि रिसोर्टमा आउने हुनाले उनीहरूको गोपनीयता र शान्ति सुरक्षा कायम गर्नु हाम्रो पहिलो कर्तव्य हो । अनुमति बिना पाहुनाहरूको तस्बिर वा भिडियो खिच्नु र त्यसलाई नकारात्मक आशयले फैलाउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत छ । यस्ता गतिविधिले सुकुटेको मात्र नभई समग्र देशकै पर्यटन छविमा नकारात्मक असर पार्ने निश्चित छ ।

यस विज्ञप्तिमार्फत हामी निम्न बुँदाहरू स्पष्ट पार्न चाहन्छौँः

१. नियमको पालनाः सुकुटे क्षेत्रका सबै रिसोर्टहरूले प्रचलित नियम र कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन्। यस सम्बन्धमा कुनै पनि जिज्ञासा वा जानकारी आवश्यक भएमा बलेफीस्थित प्रहरी चौकीमा गएर आधिकारिक जानकारी लिन सकिने व्यवस्था छ ।
२. भ्रामक समाचारमा रोकः तथ्यहीन समाचार वा भिडियो सामग्री सम्प्रेषण गरी व्यवसायीहरूलाई हतोत्साहित गर्ने र पर्यटकीय क्षेत्रलाई बदनाम गर्ने कार्य तुरुन्त बन्द गर्न हामी कडा चेतावनी (खबरदारी) दिन चाहन्छौँ ।

३. कानुनी उपचारः कसैको व्यक्तिगत गोपनीयतामा दखल पु¥याउने र झुठा सामग्री फैलाउने व्यक्तिहरू विरुद्ध प्रचलित कानुन बमोजिम साइबर अपराध लगायतका कानुनी प्रक्रियामा जान सङ्घ बाध्य हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

अन्तमा, सुकुटे क्षेत्रको शान्त, सुरक्षित र मर्यादित पर्यटकीय वातावरण जोगाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, सञ्चारकर्मी र नागरिक समाज सबैबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’