मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू

फागुन २७, हेटौंडा । वाग्मती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु भएको छ ।
चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोमबार नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

वाग्मति प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका पालिकास्तरमा बनेका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेकोले त्यस्तो अभाव पूर्ति गर्न एमबीबीएस कार्यक्रम ल्याइएको बताए । वाग्मति प्रदेशकै गौरवको आयोजना रहेको उक्त कार्यक्रमले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । मन्त्री थापाले राज्यले नागरिकलाई व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु संवैधानिक दायित्व भएको उल्लेख गर्दै हेटौंडा अस्पताल लगायत प्रादेशिक अस्पतालको सेवा–सुविधा हरेक वर्ष विस्तार गरिँदै लगिएको बताए । जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आउँदा हेटौंडा अस्पतालमा धेरै फरक आएको उनको दाबी छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा निस्कने अपेक्षा समेत गरिएको उनले बताए ।

उनका अनुसार हाल प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू हेटौंडाको गौरिटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमानेमा सञ्चालन भइरहेका छन् । छरिएर रहेका कार्यक्रमलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारको १२ करोड लगानीमा भवन निर्माण गर्न लागिएको उपकुलपति प्रदीप ज्ञवालीले बताए । प्रतिष्ठानमा हाल एमबीबीएससहित बीएससी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष एमडी कार्यक्रमका लागि ९ विषय थप गरिएको छ भने सिट संख्या ८ बाट बढाएर २७ पु¥याइएको छ ।
वि.सं. २०७६ असोज २ गते ऐन पारित भएछ स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा ४ विदेशी सहित ४६ जना विद्यार्थी एमबीबीएस कार्यक्रममा भर्ना भएका छन् ।

