४४ मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ब्रेकथ्रु
दिनेश दुलाल
भदौ ९, हिन्दी (तातोपानी) । उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ब्रे थ्रु सम्पन्न भएको छ ।

निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ सोमबार ब्रेकथ्रु गरिएको हो ।

भोटेकोशी गाउँपालिका वडा नम्बर ३ र ४ हिन्दीमा ड्याम र वडा नम्बर ५ चाकुमा पावर हाउस रहनेगरी निर्माणाधीन सो आयोजना इलेक्ट्रो पावर कम्पनीको लगानीमा निर्माण भइरहेको छ । जिसस प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरेर सुरुङको उदघाटन गरेका हुन । २ किमि ६ सय ३८ मिटर लम्बाइको सुरुङको ब्रेकथ्रु तथा उदघाटन स्विच अन गर्ने कार्यक्रम सोमबार आयोजना स्थलमा सम्पन्न भएको थियो । करिब ८ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन यस आयोजनाको सुरुङ चौडाइ ५.२ र उचाइ ५.२ मिटरको रहेको छ ।

आयोजनाले सुरुङ निर्माण २०८० फागुनमा सुरु गरेको थियो । सुरुङ निर्माणमा संलग्न भूगोल इन्फास्ट्रक्चर कम्पनीले उक्त सुरुङको फिनिसिङ पूरा गर्न ६ देखि ८ महिना लाग्ने इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । उनका अनुसार आगामी फागुनसम्म उत्पादन सुरु गर्नेछ ।

डेड वर्षअघिबाट सुरु भएको उक्त आयोजनाको भौतिक प्रगति ८० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष कार्कीले बताए । ‘सिभिलको केही काम बाँकी छ, ईलोक्ट्रो मेकानिको केही कामहरु चाँही सुरुनै भएको छैन् अब सुरु हुन्छ’, उनले भने ।
आयोजनाले आगामी सात महिनाभित्र उत्पादन गरिएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी गरेको उनले बताए । तिब्र गतिमा निर्माण भएको उक्त आयोजना सम्भवत सिन्धुपाल्चोक जिल्लाकै समय अवधि अगवै सम्पन्न हुने जलविद्युत आयोजना बन्ने आंकलन गरिएको छ । उक्त आयोजना राष्ट्रिय ग्रिडमा थप विद्युत आपूर्ति हुने भएकाले ऊर्जा सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

