मध्य भोटेकोशी जलविद्युत आयोजनाले साउन भित्रै उत्पादन दिन शुरु गर्ने

दिनेश दुलाल
साउन ६ (२०८२) , काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजना अब साउन महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युतबाट साउन महिनाभित्र विद्युत उत्पादन दिन शुरु गरिने मध्यभोटेकोशी जलविद्युत आयोजनाका कार्यकारी प्रमुख (सिइओ) रामगोपाल शिवाकोटीले जानकारी दिए ।

‘ट्रान्समिशन लाईन लगाएत आन्तरिक कामहरु अन्तिमचरण पुगिसकेका छन्, आयोजनाले यहि साउन भित्रै उत्पादन दिन शुरु गर्छ’, कार्यकारी प्रमुख शिवाकोटीले भने ।

उनका अनुसार बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनको काम सम्पन्न भईसकेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम सकिएकाले आयोजनाले अब साउन भित्रै विद्युत उत्पादन गर्ने तयारी गरेको हो ।

‘प्रसारण लाइनको कारणले गर्दा हामी ६ महिना लसमा गयौं, अब कुनै कारणले रोकिने अवस्था छैन’, उनले भने ।
उनका अनुसार गत साल नै बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षण समेत भइसकेको छ । आयोजनाको ७.१२४ किमी मुख्य सुरूङ निर्माण सकेर गत वर्षको फागुनमा पानी भरेर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा मुख्य सुरूङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार गरेको आयोजनाले जनाएको छ । सुरूङ सफाइको काम समेत सकिएर हाल सुरूङमा पानी भर्न थालिने छ ।

विद्युत गृहमा सिभिल निर्माण तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण (ड्राई टेस्ट) समेत सकिएको हो । सुरूङबाट पानी आउनासाथ उपकरणहरूको वेट टेस्ट गरिन्छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरू भएपछि सोही विद्युत प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२० केभीको बाह्रबिसे सबस्टेसन निर्माण भइसकेको छ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रूपैयाँ आम्दानी हुने पक्षपण गरिएको छ ।

यो आयोजनाको विद्युत प्रवाहका लागि खिम्ती- बाह्रबिसे ४०० केभी प्रसारण लाइनबाट हाललाई २२० केभी प्रसारण चार्जिङ गरे प्रवाह गरिने छ ।
यसअघि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने भनिएपनि त्यसलाई रद्द गरेकाे हाे ।

यसअघि जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमा नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्य सम्पादन लगायत कारणले यो आयोजना निर्माण प्रभावित भएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याज बाहेक १२ अर्ब २८ करोड ३३ लाख रूपैयाँ थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ अर्ब रूपैयाँ छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरूमध्ये प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर छ ।

४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक बासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) छ ।

कम्पनीले साधारण सेयर निस्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ ।
प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रूपैयाँ ४० पैसा र चार रूपैया ८० पैसामा किन्नेछ ।